२०८३ मंसिर ७ आईतवार
२०८३ मंसिर ७ आईतवार

बदलिँदो राप्तीसोनारी–५ : गाउँमै ल्याब सेवा, खेतमा आधुनिक मेसिन

विकास निर्माणसँगै वडाले मौलिक कला, संस्कृति संरक्षण र सामाजिक न्यायलाई पनि उत्तिकै महत्त्व दिएको छ । थारू समुदायको परम्परागत नेतृत्व प्रणाली ‘बरघर’ प्रथाको जगेर्ना गर्न ‘वडासँग बरघर कार्यक्रम’ सञ्चालन गरिएको छ । यस्तै, सन्तपुर टोल र चिलहरियामा शिव मन्दिर निर्माण तथा चाचरफर्का र जुरपानी शिव मन्दिर मर्मतले धार्मिक पर्यटन र सांस्कृतिक एकतालाई बलियो बनाउनेछ ।


राप्तीसोनारी, कात्तिक २९  गाउँका कच्ची बाटो पिपिसी र ग्राबेल हुने भएपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का बासिन्दामा उत्साह छाएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षमा करिब ९४ लाख ९८ हजार रुपैयाँका ४२ वटा योजना कार्यान्वयनमा ल्याएसँगै गाउँको भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष सकारात्मक परिवर्तन देखिन थालेको हो । वर्षायाममा हिलाम्मे हुने बाटो र खोलामा कलभर्ट नहुँदा सास्ती खेपिरहेका स्थानीयलाई अब आवतजावत र कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने भएको छ ।

विशेषगरी यातायात पूर्वाधारतर्फ ३१ लाख ५० हजार रुपैयाँको लगानीले वडाका भित्री बस्तीहरूलाई मुख्य सडकसँग जोड्ने काम गरेको छ । बनौरे खोलामा १० लाखको लागतमा कलभर्ट निर्माण र सर्बे बुढाको घरदेखि मोहन परियारको घरसम्म ९ लाख रुपैयाँमा बाटो पिपिसी हुने भएपछि वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुँदैछ । यसका साथै नकछेदु थारूको घरदेखि राप्ती बन्दासम्म बाटो पिपिसी तथा ह्युम पाइप व्यवस्थापन, कृष्ण के.सी.को घरदेखि दरवारी थारूको घरसम्म बाटो ग्राबेल र श्याम थारूको घरदेखि अगीराम थारूको घरसम्म बाटो पिपिसी निर्माणले गाउँको मुहार फेर्ने देखिएको छ । गीता थारूको घरदेखि गेलु थारूको घरसम्म ३ लाखको लागतमा नाली निर्माण तथा अपिस खोलामा ३ लाखको तारजाली लगाउने योजनाले बस्ती डुबान र कटानको जोखिमसमेत कम गर्नेछ ।
पूर्वाधारसँगै वडाले स्थानीयलाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरण र महिला उद्यमशीलतामा १४ लाख रुपैयाँ परिचालन गरेको छ । सोनारी ग्रामीण महिला बेसार उद्योग प्रवद्र्धनका लागि ५ लाख रुपैयाँको सहयोगले स्थानीय महिलाहरूलाई सामूहिक व्यवसायमार्फत आयआर्जनमा जोड्न मद्दत पुर्‍याउनेछ । कृषकको लागत घटाउन ५० प्रतिशत अनुदानमा १० एच.पि.को मिनी टिलर खरिद, सिँचाइ सहजताका लागि कृषि मोटरमा ९ इन्चको पोल जडान तथा पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन र पशु औषधि उपलब्ध गराउने कार्यक्रमले व्यावसायिक कृषि र पशुपालनमा युवाहरूको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री सिकाइका लागि ९ लाख ६० हजार रुपैयाँ बराबरका योजनाले सामुदायिक विद्यालयको स्तरोन्नतिमा टेवा पुर्‍याएका छन् । श्री ने.रा.मा.वि. चिलहरिया र श्री समय आधारभूत विद्यालयमा कम्प्युटर तथा प्रिन्टर खरिद, भुवर भवानी मा.वि.मा आइसिटी तथा शौचालय मर्मत र युवाहरूका लागि कम्प्युटर तालिमले ग्रामीण विद्यार्थीलाई डिजिटल युगसँग जोड्नेछ । बालक शान्ति प्रा.वि.मा ३ लाखको लागतमा बगैंचा निर्माणले विद्यालयको वातावरण हरियाली र बालमैत्री बन्नेछ । स्वास्थ्यतर्फ स्वास्थ्य चौकीमै ल्याब स्थापना गर्ने १ लाखको योजनाले सामान्य रगत तथा दिशा–पिसाब जाँचका लागि कोहलपुर वा नेपालगन्ज धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्नेछ भने आयुर्वेदिक औषधि खरिदले परम्परागत उपचारमा सहजता ल्याउनेछ ।

विकास निर्माणसँगै वडाले मौलिक कला, संस्कृति संरक्षण र सामाजिक न्यायलाई पनि उत्तिकै महत्त्व दिएको छ । थारू समुदायको परम्परागत नेतृत्व प्रणाली ‘बरघर’ प्रथाको जगेर्ना गर्न ‘वडासँग बरघर कार्यक्रम’ सञ्चालन गरिएको छ । यस्तै, सन्तपुर टोल र चिलहरियामा शिव मन्दिर निर्माण तथा चाचरफर्का र जुरपानी शिव मन्दिर मर्मतले धार्मिक पर्यटन र सांस्कृतिक एकतालाई बलियो बनाउनेछ । अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम, द्वन्द्व पीडित सम्मान, सामुदायिक मेलमिलापकर्तालाई प्रोत्साहन र युवा प्रतिभा उजागर गर्न ‘वडा अध्यक्ष कप’ जस्ता कार्यक्रमले वडामा सामाजिक सद्भाव र अपनत्व बढाएको छ ।

योजनाहरूको प्रभावकारी कार्यान्वयन र त्यसबाट वडावासीले पाउने प्रतिफलबारे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारू भन्छन्, ‘हामीले अंकमा बजेट बाँड्नेभन्दा पनि नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने र दीर्घकालीन प्रतिफल दिने योजना छनोट गरेका छौं । बाटो पिपिसी, कलभर्ट र नाली निर्माणले गाउँको आवतजावत सहज बनाउँछ भने अनुदानको मिनी टिलर, च्यापकटर र महिला बेसार उद्योगले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्छ ।’ स्वास्थ्य चौकीमा ल्याब स्थापना र विद्यालयमा आइसिटी विस्तारले आधारभूत सेवामा नागरिकको पहुँच स्थापित गर्ने बताउँदै अध्यक्ष थारूले सबै योजनाहरू गुणस्तरीय रूपमा सम्पन्न गरी वडालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चालन हुने योजना तथा कार्यक्रम
– अपाङ्ग लक्षित कार्यक्रम (लुम्बिनी प्रदेश समानीकरण अनुदान)
– अपाङ्ग लक्षित कार्यक्रम (नेपाल सरकार समानीकरण अनुदान)
– आयुर्वेदिक औषधि खरिद
– कम्प्युटर तालिम
– द्वन्द्व पीडित सम्मान कार्यक्रम
– बालक शान्ति प्रा.वि. मा गार्डेन बगैंचा निर्माण
– भूमि व्यवस्थापन सम्बन्धी खर्च
– वडा अध्यक्ष कप
– वडासँग बरघर कार्यक्रम
– श्री समय आधारभूत विद्यालयलाई कार्यालय सामाग्री खरिद
– सोनारी ग्रामीण महिला बेसार उद्योग
– विपद् व्यवस्थापन कार्यक्रम
– पशु शाखाको लागि औषधी खरिद
– च्यापकटर मेसिन खरिद ५० प्रतिशत अनुदान
– मिनी टेलर खरिद १० एच.पि. ५० प्रतिशत अनुदान
– श्री ने.रा.मा.वि. चिलहरियालाई कम्प्युटर, प्रिन्टर र कार्यालय सामान खरिद
– भुवर भवानी मा.वि. लाई आइ.सि.टी. र शौचालय मर्मत
– स्वास्थ्य चौकीमा ल्याब स्थापना
– कृष्ण के.सी. को घरदेखि दरवारी थारूको घरसम्म बाटो ग्राबेल
– नकछेदु थारूको घरदेखि राप्ती बन्दासम्म बाटो पि.सि.सि., हीम पाइप र बाटो ग्राबेल
– बनौरे खोलामा कलभर्ट निर्माण
– श्याम थारूको घरदेखि अगीराम थारूको घरसम्म बाटो पि.सि.सि.
– सर्बे बुढाको घरदेखि मोहन परियारको घरसम्म बाटो पि.सि.सि.
– कृषि मोटरको लागि विभिन्न ठाउँमा ९ इन्चको पोल खरिद
– गीता थारूको घरदेखि गेलु थारूको घरसम्म नाली निर्माण
– अपिस खोलामा तारजाली
– चाचरफर्का शिव मन्दिरमा रंगरोगन तथा मर्मत
– चिलहरिया अधुरो शिव मन्दिरको निर्माण
– जुरपानी शिव मन्दिरमा रंगरोगन र शौचालय मर्मत
– सन्तपुर टोलमा शिव मन्दिर निर्माण

वडालाई पालिकाको साथ
राप्तीसोनारी गाउँपालिकाबाट प्राप्त विशेष पूर्वाधार योजनाहरूले वडा नं. ५ का मुख्य टोल र बस्तीहरूको मुहार फेरिने भएको छ । वडास्तरीय बजेटबाहेक गाउँपालिकाले प्रत्यक्ष रूपमा पठाएका सडक स्तरोन्नति, कल्भर्ट निर्माण तथा खेलकुद पूर्वाधारका सातवटा महत्त्वपूर्ण योजना कार्यान्वयनमा आएसँगै स्थानीय बासिन्दामा खुसी छाएको छ । वर्षौंदेखि कच्ची र अधुरा बाटोका कारण सास्ती खेपिरहेका नागरिकलाई अब सहज आवतजावतसँगै खेलकुद र स्वास्थ्य सेवामा पहुँच पुग्न सजिलो हुने भएको छ ।
गाउँपालिकाको योजनाअन्तर्गत वडाका विभिन्न बस्तीमा बाटो पिपिसी (ढलान) कार्यलाई मुख्य प्राथमिकता दिइएको छ । जसअनुसार गोरभुरु सल्यानी टोलस्थित भीमबहादुर खत्रीको घरदेखि बनौरे खोलासम्म बाटो पिपिसी निर्माण सुरु भएको छ । यस्तै, चाचरफर्कामा जागेश्वर थारूको घरदेखि कैशल थारूको घरसम्म बाटो पिपिसी गरिनुका साथै सोही टोलको विगतमा अधुरो रहेको पिपिसी सडकलाई समेत पूर्णता दिइने भएको छ ।
यसैगरी, ललहीगाउँमा अधुरो रहेको पिपिसी बाटो निर्माणले पनि निरन्तरता पाएको छ । विशेषगरी आम नागरिकको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको बिनौना स्वास्थ्य चौकी जाने बाटोमा साझेदारीमा पिपिसी निर्माण हुने भएपछि बिरामी र स्वास्थ्यकर्मीलाई आवागमनमा ठूलो राहत मिल्नेछ । वडाका विभिन्न स्थानमा पानीको निकास र आवतजावत सहज बनाउन कल्भर्ट निर्माण कार्यसमेत अघि बढाइएको छ ।
सडक पूर्वाधारसँगै युवाहरूको खेलकुद प्रतिभा प्रवद्र्धनका लागि वडामा रंगशाला कभर्ड हल निर्माणको योजनासमेत आएको छ । कभर्ड हल निर्माण भएपछि वर्षायाम र चर्को घाममा पनि स्थानीय युवा तथा खेलाडीलाई इन्डोर खेलकुद अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ ।
गाउँपालिकाबाट प्राप्त यी योजनाहरूको प्रभावकारी कार्यान्वयनबारे राप्तीसोनारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष झगरु थारू भन्छन्, ‘वडाको सीमित बजेटले मात्र ठूला पूर्वाधार निर्माण गर्न सम्भव थिएन । गाउँपालिकाबाट प्राप्त यी योजनाले बिनौना स्वास्थ्य चौकी जाने बाटोदेखि चाचरफर्का, गोरभुरु र ललहीगाउँका अधुरा सडक पूरा गर्न ठूलो मद्दत पुगेको छ ।’ कभर्ड हल र कल्भर्ट निर्माणले वडाको दीर्घकालीन विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने बताउँदै अध्यक्ष थारूले सबै योजना गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्न वडा कार्यालयले निरन्तर निगरानी गरिरहेको जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।