कञ्चनपुर । वर्षेनी बाढी र डुबानको समस्या झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका किसानले खेतीपातीको विकल्प परिवर्तन गर्न थालेका छन् । बाढीले खेतमा बालुवा थुपारेपछि धान र गहुँ खेती गर्न नसक्ने अवस्थामा पुगेका किसान अहिले त्यही जमिनमा बेसार खेती गरेर आम्दानी लिन थालेका छन् ।
कुतियाकवरका टेकबहादुर सुनार केही वर्षअघिसम्म आफ्नो खेतमा धान खेती गर्थे । उत्पादन पनि राम्रै हुन्थ्यो । तर, २०७८ सालको बाढीले खेतमा बालुवा थुपारेपछि उनको परम्परागत खेती प्रभावित भयो । त्यसपछि उनले आधा बिघा जमिनमा बेसार खेती गर्न थालेका हुन् । तीन वर्षदेखि बेसार खेती गर्दै आएका सुनारले बालुवायुक्त जमिनमा पनि राम्रो उत्पादन लिन सफल भएका छन् ।
‘बालुवामा धान, गहुँ राम्रो हुँदैन । बाढी आए डुबानमा परेर सबै नोक्सान हुन्छ,’ उनले भने, ‘बेसार खेतीमा अलिअलि डुबान भए पनि बिग्रिँदैन र बालुवामा पनि राम्रो उत्पादन हुन्छ ।’ उनका अनुसार आधा बिघा जमिनमा करिब एक सय क्विन्टल बेसार उत्पादन हुने गरेको छ ।
महाकाली नदी र जोगबुडा नदीको बीचमा तथा दुईतर्फ भारतीय भूभागले घेरिएको कुतियाकवरमा ३८ परिवारको बसोबास छ । महाकाली र जोगबुडा नदीमा आउने बाढीका कारण यो बस्तीका किसानले हरेक वर्ष डुबानको जोखिम सामना गर्दै आएका छन् । बाढीले खेतमा बालुवा थुपार्ने र लगाएको बाली नष्ट गर्ने समस्या बढेपछि यहाँका किसान वैकल्पिक खेतीतर्फ लागेका हुन् ।

स्थानीय किसान खडके बुढाले पनि धान खेती छाडेर बेसार खेती सुरु गरेका छन् । उनले डेढ बिघा जमिनमा बेसार लगाएका छन् । गत वर्ष उत्पादित बेसार बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गरेको उनले बताए ।
‘बालुवामा पनि बेसार फल्छ र डुबान हुँदा पनि खासै समस्या हुँदैन,’ उनले भने ।
बाढीका कारण परम्परागत खेती गर्न कठिन बनेपछि कुतियाकवरका किसानका लागि बेसार खेती विकल्पका रूपमा देखिन थालेको छ । यसले बाढी प्रभावित जमिनको उपयोगसँगै किसानलाई आम्दानीको नयाँ आधारसमेत दिएको छ ।
















