काठमाडौँ ,मंसिर ४ सहकारी ठगी अभियोगमा आफूविरुद्ध कायम गरिएको बिगो बुझाएर रिहा हुन पाउँ भन्ने रवि लामिछाने र छविलाल जोशीको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएक पनि निवेदककै कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका हुन्। राई र डंगोलको इजलासको पहिलो नम्बरमै लामिछाने र जोशीको निवेदनको पेशी तोकिएको थियो।
तत्कालीन गोरखा मिडिया नेटवर्कका सञ्चालक लामिछाने र जोशीले बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।
गत साउन २६ गते जिल्ला अदालत बुटवलका न्यायधीश नारायण सापकोटाको इजलासले माग बमोजिमको आदेश दिन अस्वीकार गरेपछि रवि र छवि पुनरावेदनको निवेदन लिएर उच्च अदालत पुगेका थिए।
उच्च अदालतले यसअघि दुई पटक मिसिल झिकाउने आदेश दिएका थिए।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो बराबरको दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका छन्।
लामिछानेले जस्तै जोशीले त्यति नै बिगोवापतको जमानत पेस गरेका थिए। पुर्पक्षका लागि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा राखिएको छ।









