कोहलपुर, मंसिर ४ देशभरि अहिले नयाँ मतदाता संकलनको काम भइरहेको छ । नयाँ मतदाताले भोटर लिस्टमा कसरी आफ्नो नाम राख्न पाउँछ ?
यो निर्वाचन विशेष अवस्थाको निर्वाचन भएको कारणले गर्दाखेरी त्यसमा हामीले नियमितभन्दा थप प्रावधानहरु कार्यान्वयन गर्यौं । मतदाता नामावली ऐन, २०७३ को दफा ४ मा संशोधन गरेर त्यसमा साबिकमा भएको व्यवस्था चाहिँ निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम संकलनको काम स्थगित गरिनेछ भन्ने व्यवस्था उल्लेख भएकोमा यो नयाँ अवस्थामा हुन लागेको निर्वाचन खासगरी, कोही पनि युवाहरु जो चाहिँ मतदाता हुन योग्य हुनुहन्छ ।
नेपाली नागरिक भइसक्नुभएको छ, त्यस्तो व्यक्तिहरु कोही पनि नछुट्नुहोस् भन्नका लागि हामीले नयाँ व्यवस्था गरेर कात्तिक मसान्तसम्मको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि थप गरेका छौं । त्यसमा धेरै काम केही पनि गर्न पर्दैन, निर्वाचन आयोगले वेबसाइटमा एउटा लिंक राखिदिएको छ ।
त्यसमा क्लिक गरेर आफू बसेकै ठाउँबाट घरबाटै होस् या कुनै आफ्नो अनुकूल पर्ने ठाउँबाट आवेदन गर्न सक्नुहुनेछ । त्यो आवेदनमा नाम, ठेगाना लगायतका सबै विवरण, त्यहाँ मागिएका विवरणहरु भर्नुपर्ने हुन्छ । त्यो भरिसकेपछि त्यो आवेदनकै अन्तिममा उहाँ कुन अफिसमा गएर बायोमेट्रिक भन्छौं हामी, दुई खालको जैविक विवरण दिएका छौं । एउटा फोटो र अर्को औंठाछापका लागि कुन अफिसमा जान चाहनुहुन्छ ? भनेर सोधिन्छ उहाँले चाहिँ हाम्रा सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयहरु छन् । अर्को हिसाबमा भन्दा प्रत्येक जिल्लामा कम्तीमा एउटा कार्यालय छ । त्यो कार्यालयमध्ये आफूलाई पायक पर्ने ठाउँमा, स्थायी ठेगाना भएकै ठाउँमा जानु पनि पर्दैन । आफूलाई पायक पर्ने स्थानको निर्वाचन कार्यालयमा जान पाउनुहुन्छ । निर्वाचन कार्यालय रोजिसकेपछि कुन मितिमा तपाई त्यहाँ जानुहुन्छ ? भनेर सोधिन्छ । अनि आफूलाई जान अनुकूल परेको मिति जुन पहिल्यै अकुपाइ भइसकेको छैन ।
त्यो मितिमध्येबाट रोजेर त्यो मितिमा त्यहाँ गएर आफ्नो बायोमेट्रिक दिन सक्नुहुन्छ । बायोमेट्रिक दिँदाखेरी आफ्नो विवरण पहिल्यै भरेको कारणले त्यसमा धेरै समय लाग्दैन, छोटो समयमा नै आफ्नो विवरणहरु दिएर फर्किन पाउनुहुन्छ । र यो व्यवस्थालाई प्रयोग गरेर नागरिकहरु जो योग्य हुनुहुन्छ, उहाँहरुले यो अवसरको फाइदा लिएर, आफू योग्य मतदाता भएर फागुन २१ को निर्वाचनमा मतदान गर्नको लागि तयारी भएर बस्न म सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु।

मतदाता हुनको लागि १८ वर्ष पुगेको हुनपर्छ होला । यसमा उसले नागरिकता, राष्ट्रिय परिचयपत्र लिएको हुनुपर्ने कि नपर्ने ? यो पनि स्पष्टसँग बताइदिनुस् ।
धन्यवाद ! संविधानमा उल्लेख भएको छ, १८ वर्ष पुगेको नागरिकलाई मतदानको अधिकार हुनेछ । हामीले फागुन २१ मा गर्ने निर्वाचनका लागि जो व्यक्ति फागुन २० गतेसम्म १८ वर्ष पुगिसक्नुभएको छ, नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिमध्येको कुरा गरिरहेको छु मैले । १८ वर्ष फागुन २० मा पुग्नुहुन्छ, उहाँहरुले मतदान गर्न पाउनुहुन्छ । हामीले फागुन २० गतेसम्मै मतदाता नामावलीमा नाम सङ्कलन गरिराख्यौं भने त्यसले तयारी पुग्दैन । हामीले फागुन २० गतेभन्दा अगावै सम्बन्धित मतदान केन्द्रसम्म मतदाताको नामावली पठाउनुपर्नेछ । त्यसकारणले गर्दा, निर्वाचन आयोगले विगतदेखि नै निर्णय गरेर एउटा नयाँ प्रावधान सुरु गरेको छ । १६ वर्ष पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेको व्यक्तिले मतदाता नामावलीमा नाम लेखाउन पाउने तर, मतदान गर्नको लागि अब हामीले फागुन २१ गते चुनाव हुने भएकोले फागुन २० सम्म १८ वर्ष पुगेको भन्यौं । यही कुरा वैशाख २० गते चुनाव हुने भएको भए वैशाख १९ सम्म १८ वर्ष पुगेको भन्थ्यौं होला ।
निर्वाचनको मितिदेखि एक दिन अगाडिसम्म १८ वर्ष पुगेकोले मतदान गर्न पाउने भएको हुनाले जसको मतदाता नामावलीमा नाम छ, त्यसमध्ये पनि आयोगले सटिङ (छनोट) गरेर मतदाता नामावलीमा नाम त १६ वर्ष पुगेको व्यक्तिको पनि हुने भयो । त्यहाँ १६, १७ वर्ष पुगेका व्यक्तिको नाम पनि छ । तर, संविधानले १८ वर्ष पुगेपछि मतदान गर्न पाउने भनेको कारणले निर्वाचन आयोगले मतदाताको नाम सटिङ गर्छ र जो चाहिँ फागुन २० गतेसम्म १८ वर्ष पुग्नुहुन्छ, उहाँहरुको नाम मतदान केन्द्रमा पठाइन्छ । त्योभन्दा अरुको नाम चाहिँ पुग्दैन त्यहाँ ।
अनलाइनबाटै कसरी नाम दर्ता गर्ने
–वेबसाइट खोल्नेवित्तिकै तपाईँ होमपेजमा पुग्नुहुन्छ । होमपेजमा आयोगका फोटोहरू परिवर्तन भइरहेको देख्नुहुनेछ । त्यसलाई थोरै स्क्रोल गर्नुभयो भने स्क्रिनको बायाँपट्टि ’मतदाता नामावली प्रि–रजिष्ट्रेसन र अद्यावधिक’, ’मतदाता नामावली’, ’निर्वाचन परिणाम’ र ’इ–बुलेटिन’ शीर्षकहरू देख्नुहुनेछ ।
–अब तपाईँले सुरुको ’मतदाता नामावली प्रि–रजिष्ट्रेसनबाट र अद्यावधिक’ शीर्षकमा क्लक गर्नुहोस् । त्यसपछि तपाईँले स्क्रिनमा निर्वाचन आयोगको ठूलो लोगो देख्नुहुन्छ ।
–लोगोको दायाँपट्टि साना अक्षरमा ’नयाँ दर्ता’ र ’नामावली अद्यावधिक’ दुई शीर्षक देख्नुहुनेछ । मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउनको लागि ’नयाँ दर्ता’ मा क्लिक गर्नुहोस् । त्यस्तै मतदाता नामावलीमा रहेको त्रुटी सच्चाउन र नामावली सार्नको लागि ’नामावली अद्यावधिक’मा क्लिक गर्नुहोस् ।
–तपाईँले यदि ’नयाँ दर्ता’मा क्लिक गर्नुभयो भने स्क्रिनमा तपाईँको मोबाइल नम्बर माग्छ । तपाईँले मोबाइल नम्बर राखेपछि निर्वाचन आयोगले तपाईँको मोबाइल नम्बरमा चार अक्षरको ओटीपी कोड पठाउँछ । त्यो कोड राखेपछि तपाईँ आवेदन भर्न सक्षम बन्नुहुन्छ ।
दायाँपट्टि रहेको ‘नयाँ दर्ता’ मा क्लिक गरेपछि तपाईँको आवेदन भर्न सुरु हुन्छ । तपाईँले नयाँ दर्तामा क्लिक गर्ने वित्तिकै त्यहाँ ‘आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरु’ र ‘औंठाको छाप र फोटो दिन जाँदा निम्न बमोजिमका कागजातहरू लिएर जानुपर्ने छ’ गरी दुई ओटा शीर्षकमा सूचना देख्नुहुन्छ । त्यसलाई ध्यानपूर्वक पढेर ‘हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन’ भन्नेमा ठीक चिन्ह लगाएर हरियो रंगको बक्सभित्र भएको ’सुरु गर्नुहोस्’ मा क्लिक गर्नुहोस् ।
–त्यसपछि तपाईँले क्रमैसँग आफ्नो स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकताको विवरण, अपाङ्गता भए/नभएको, सम्पर्क स्थान लगायत खुलाएर विवरण भर्नुहोस् र सबमिट गर्नुहोस् । त्यसपछि तपाईँले भरेको विवरण तपाईँको मतदाता केन्द्रका लागि पुग्छ ।
अनलाइन फाराम भरिसकेपछि प्राप्त हुने संकेत नम्बरसहितको प्रिन्ट कपि र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने छ ।













