कोहलपुर,पुस ११ मेलमिलापकर्ताहरुका लागि मेलमिलापसम्बन्धी दुई दिने पुनर्तागी तालिम कोहलपुरमा सुरु भएको छ । कोहलपुर नगरपालिकाका न्यायिक समितिको आयोजनामा उक्त तालिम बिहीबारबाट सुरु भएको हो ।

आज (शुक्रबार) सम्म तालिम सञ्चालन हुनेछ । उक्त तालिमको उद्घाटन उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायधीश बासुदेव ज्ञवालीले गरेका थिए । उद्घाटनको क्रममा उनले अदालतको फैसलाले विवादको पूर्ण समाधान कहिल्यै पनि गर्न नसक्ने बताए । मिसिलका आधारमा फैसला गर्ने भएकाले एक पक्ष सधैं असन्तुष्ट रहने उनको भनाइ छ ।
‘न्यायधीशले लिखित मिसिलका आधारमा फैसला गर्ने हो,’ उनले भने, ‘फैसला एउटाले जित्ने र अर्कोले हार्ने भएकाले विवादको अन्तिम समाधान हुन सक्दैन ।’ उनले मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा त्यो दीर्घकालीन हुने बताए । ‘स्थानीयतहलाई न्यायिक निरुपणको अधिकार संविधानले दिएको छ,’ उनले भने, ‘मेलमिलापकर्ताहरुले स्थानीय स्तरमा निमिट्यान पारेका विवाद केवल दुई पक्षको समाधानमात्रै नभएर शान्ति स्थापनामा पनि टेवा पुर्याउँछ ।’ उनले समाजमा पूर्णरुपमा विवाद समाधान गर्ने मिलमिलाप सर्वोत्तम् विकल्प भएको पनि उल्लेख गरे ।
मेलमिलापकर्ताहरुले इमान्दारीता र निष्पक्ष भएर विवाद समाधान गर्दै गए अधिकारसमेत बढाउन सकिने आधार तय हुने उनको भनाइ छ । वरिष्ठतम् न्यायधीश ज्ञवालीले तीन वर्ष अघि कोहलपुरका मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिएको स्मरण गर्दैै प्राप्त सीपलाई सही ढंगबाट उपयोग गर्न आग्रह पनि गरे । कार्यक्रममा कोहलपुर नगरपालिकाका न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख संगीता सुवेदीले न्याय निरुपणमा मेलमिलापकर्ताहरुले उत्कृष्ट कार्य गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकाका १५ वटै वडामा एक/एक जना मेलमिलाप संयोजक र दुई/दुईजना मेलमिलापकर्ताहरु छन् । नगर उपप्रमुख सुवेदीले ती
मेलमिलाकर्ताहरुले वडातहमा आएका विवादहरुलाई वडामै समाधान गर्दा न्यायिक समितिमा मुद्दाको चाप नभएको पनि बताइन् ।
उनले मेलमिलापका माध्यमबाट गरिने विवाद समाधान दीर्घकालीन देखिएको पनि आफूले महसुस गरेको बताइन् । सुवेदीकै अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहको स्वागत मन्तव्य न्यायिक समितिका सदस्य सविता चौधरीले दिएकी थिइन् ।









