काठमाडौं, पुस १८ शीतका कारण सडक भिजेर चिप्लो बनेपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा पुनः दुईतर्फी रूपमा गाडी चल्न थालेका छन् । तीन दिनदेखि समस्या देखिएको सडकमा हिजो दिउँसोदेखि यातायात सुचारु भएको दाउन्ने प्रहरी चौकीले जनाएको छ ।
सडक चिप्लो भएपछि ठूला तथा मालबाहक गाडी उकालो चढ्न नसक्दा लामो जाम हुने अवस्था सिर्जना भएको थियो । केही स्थानमा यात्रुले ३० देखि ३२ घण्टासम्म जाममा बस्नुपरेको थियो । अहिले सडकमा गिट्टी राखिएको र जोखिम कम भएको प्रहरीले जनाएको छ । तर निर्माणाधीन भएकाले शीत बढ्दा पुनः समस्या दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बुटवल–नारायणगढ १७० किलोमिटर सडकखण्डमध्ये दाउन्नेको करिब १४ किलोमिटर पार गर्न मात्र ५–६ घण्टा लाग्ने अवस्था यथावत छ । कल्भर्ट तथा सडक ढलानको काम भइरहेकाले केही क्षेत्रमा एकतर्फी सडक सञ्चालन भइरहेको छ ।
यसैबीच नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) ले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ट्राफिक नियम कडाइका साथ पालना गर्न तथा लेन डिसिप्लिनमा यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

वैकल्पिक मार्गका रूपमा नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल आउजाउ गर्न, कालीगण्डकी चोक (गैँडाकोट)–रामपुर–पिपलडाँडा मार्ग तथा काठमाण्डौ–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न सवारीचालकलाई सुझाव दिइएको छ ।
आयोजनाले निर्माण कार्य तीव्र रूपमा भइरहेको र यात्रा सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइरहेको जनाएको छ ।















