राप्तीसोनारी, पुस– १७ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुई स्थित लक्ष्मी माध्यमिक विद्यालयको ६६औं वार्षिक उत्सव तथा अभिभावक भेला विहिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले ब्यानर पढेर भर्चुल मार्फत कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले लक्ष्मी मावि नमुना विद्यालयको रूपमा रहेको र विद्यालयबाट थुप्रै जनशक्ति उत्पादन भएको बताए ।
पुरानो इतिहास बोकेको विद्यालय भएकोले विद्यालयको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री प्रेमबहादुर भण्डारीले विविध आरोह अवरोह पार गर्दै विद्यालयले ६६औं वार्षिक उत्सव मनाउनु सफलता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा विद्यालयको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ को ३ करोड ५२ लाख ५ हजार ३ सय ४ रुपैयाँ ८९ पैसा बराबरको आय व्यय प्रस्तुत गरेका थिए । साथै २०८२/०८३ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी वार्षिक उत्सवमा खेलकुद प्रतियोगिता रनिङ्गशिल्डमा सहभागी विद्यार्थीहरुलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, सामुदायिक वनका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।















