बाँके, माघ १५ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षामा प्रयोग हुने नमुना मतपत्र सबै जिल्लामा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जानकारी दिँदै यसबारे विवरण दिएका हुन् ।
उनका अनुसार, कुल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरिएको छ । यी मतपत्र सबै जिल्लामा वितरण भइसकेको र मतदाता शिक्षामा प्रयोगका लागि तयारी पूरा भइसकेको उनले बताए । ‘पहिलो चरणमा हुने निर्वाचन प्रणालीअनुसार हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका लागि नमुना मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ,’उनले बताए ।
मतपत्र वितरण र निर्वाचन तयारीको प्रक्रिया पनि आयोगले व्यवस्थित रूपमा अघि बढाएको छ । प्रवक्ता भट्टराईका अनुसार, माघ २५ देखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना छ । यसरी वितरणपछि मतदाता शिक्षामा नागरिकहरूले वास्तविक मतपत्र जस्तो अनुभव गरेर मतदान प्रक्रियाप्रति सचेत बन्न सक्ने आयोगको विश्वास छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पनि अधिकांश सम्पन्न भइसकेको छ । यसमा करिब दुई करोडभन्दा बढी मतपत्र छापिएका छन् । प्रवक्ता भट्टराईले भने, ‘समानुपातिक प्रणालीतर्फको मतपत्र वितरण र तयारी पनि अन्तिम चरणमा पुगेको छ । बाँकी काम छिट्टै सम्पन्न गरी निर्वाचन तयारी पूरा हुनेछ ।’निर्वाचन आयोगले मतदाता शिक्षालाई प्राथमिकता दिएको छ । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रकार, मतदानको तरिका र मतदानको बेला अपनाउनुपर्ने नियमबारे जानकारी दिइन्छ । यसले मतदातामा सही जानकारी र आत्मविश्वास बढाउने काम गर्छ ।

प्रवक्ता भट्टराईले मतदाता शिक्षालाई सफल बनाउन स्थानीय तह, शिक्षक, सामाजिक संस्थाहरू र सञ्चारमाध्यमसँग सहकार्य भइरहेको बताए । उनले मतदातालाई समयमै मतदानस्थलमा पुगेर मतदान गर्न र मतपत्र ठीक प्रकारले प्रयोग गर्न आग्रह गरे ।निर्वाचन तयारीका क्रममा मतपत्र छपाइ, वितरण, सुरक्षा र मतदाता शिक्षामा ध्यान दिइएकोले निर्वाचन सहज, पारदर्शी र निष्पक्ष हुने आयोगको भनाइ छ । निर्वाचन आयोगले मतदाता शिक्षामा नागरिकलाई सक्रिय बनाउँदै लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्ने उद्देश्य राखेको छ ।















