चुनावी अभियानका क्रममा उम्मेदवारहरू विकासका ठूला सपना देखाइरहेका छन् । तर त्रिपालमुनिको बस्तीमा सपना सानो छ, ‘सुरक्षित घर, नियमित काम र सम्मानजनक जीवन ।’ फागुन २१ गते मतदान केन्द्रमा मत खस्दा मगन्ते समुदायका यी परिवारहरूले धेरै सोच्नेछन् । उनीहरूका लागि भोट कुनै दलप्रतिको आस्था होइन, जीवन बदल्ने आशा हो । मगन्ते समुदायको प्रश्न, ‘आज मागेर ल्याएको पकौडी खायौँ । भोलि पनि मागेरै खाने हो भने यो चुनावको अर्थ के ?’
नेपालगन्ज, माघ १८ फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू आआफ्ना चुनावी अभियानमा व्यस्त छन् । सडकछेउ पोस्टर टाँसिएका छन्, चोकचोकमा माइकबाट भाषण गुञ्जिरहेका छन् । विकास, रोजगारी, समृद्धि र परिवर्तनका नाराले बजार तताएको छ । तर कोहलपुर नगरपालिकाको हवल्दारपुरबाट पश्चिमतर्फ केहीबेर हिँड्ने हो भने चुनावी माहोल एकाएक फेरिन्छ । यहाँ न कुनै माइक छ, न भाषण । यहाँ छ, ‘त्रिपालमुनिको जीवन र भोटसँग जोडिएको एउटा गम्भीर प्रश्न ।’
सडकछेउमै लहरै देखिने त्रिपालले बनाइएका टेन्टहरू टाढाबाट हेर्दा अस्थायी शिविर जस्तै देखिन्छन् । तर ती कुनै शिविर होइनन्, ती मगन्ते समुदायका परिवारहरूको बस्ती हुन् । १८ वटा टेन्टमा दर्जनौँ परिवार आश्रित छन् । कुनै योजना छैन, कुनै स्थायी संरचना छैन । प्वाल परेको त्रिपाल, च्यातिएको छाना र कमजोर डोरीले बाँधिएका टेन्टहरू नै उनीहरूको घर, छाना र संसार बनेका छन् ।
पुसको कठ्यांग्रिने जाडोले छाडिसके पनि यहाँको पीडा सकिएको छैन । हावा चल्दा टेन्ट हल्लिन्छ, पानी पर्दा भित्र पस्छ । एउटै टेन्टभित्र पाँचदेखि सात जनासम्म कोचिएर बस्छन् । सुत्ने ठाउँ कम छ, ओढ्ने त झन् छैन । रात बिताउनु यहाँको सबैभन्दा ठूलो संघर्ष हो । जफरुद्दीन मुस्लिम यही बस्तीका बासिन्दा हुन् । सातजनाको परिवारसँग उनी त्रिपालमुनि बस्छन् । श्रीमती र पाँच छोराछोरी । ओढ्ने एउटा पनि सिरक छैन । भएको एउटा पुरानो कम्बल सात जनाले पालैपालो तान्दै रात काट्छन् । ‘एउटाले ताने अर्कोलाई पुग्दैन,’ उनी भन्छन्, ‘चिसोले रातभर सुत्न सकिँदैन ।’

जफरुद्दीनले धेरै चुनाव देखेका छन् । नेताहरूको अनुहार फेरिएको देखेका छन्, नारा फेरिएको सुनेका छन् । तर आफ्नो जीवन भने कहिल्यै नफेरिएको उनी बताउँछन् । ‘हामीले चुनाव त देख्यौँ,’ उनी भन्छन्, ‘तर चुनावले हामीलाई देखेन ।’ बस्तीमा बिहान चाँडै घाम लाग्दैन । कुहिरोले ढाकिएको वातावरणमा भिजेको पराल, चिसो माटो र भोकसँग जुध्दै दिन सुरु हुन्छ । बिहान उज्यालो हुनासाथ सबैको मनमा एउटै प्रश्न उठ्छ, ‘आज के खाने ? कसरी चुलो बाल्ने ?’
दिउँसो करिब दुई बजेतिर सैमुल मुस्लिम बस्ती फर्किन्छिन् । नजिकैको झन्डहवाको बजारतर्फ बिहानैदेखि माग्दै हिँडेकी उनी झोलामा थोरै सामान बोकेर आएकी हुन्छिन् । झोलाभित्र आधा किलो जति चामल, कुहिन थालेका खुर्सानी र आलु हुन्छन् । कहिलेकाहिँ कसैले दिएको पकौडी पनि हुन्छ । ‘बिहान आठ बजेदेखि माग्दै हिँडेको,’ उनी भन्छिन्, ‘आज यत्ति नै भयो ।’ सैमुल बस्तीमा पुग्नासाथ उनका छोराछोरी झोलातर्फ दौडिन्छन् । पकौडी झिकेर सबैलाई बाँडिन्छ । त्यो खाना उनीहरूका लागि केवल पेट भर्ने साधन होइन, दिनभर बाँच्ने आशा हो । पेट त भरिँदैन, तर भोक केही समय चुप लाग्छ ।
मोहम्मद अहिमको अवस्था पनि उस्तै छ । उनको परिवार पनि त्रिपालमुनि नै बस्छ । पानी पर्दा भित्र पस्छ, हावा चल्दा छाना हल्लिन्छ । राति सुत्दा सर्प, मुसा र अन्य जनावरको डर हुन्छ । ‘तर पनि यही हाम्रो घर हो,’ उनी हाँस्न खोज्छन् । त्यो हाँसोभित्र गहिरो पीडा लुकेको देखिन्छ । स्थायी बसोबास नहुँदा उनीहरू दुई–तीन हप्ता एउटै ठाउँमा बसेपछि फेरि त्रिपाल बोकेर अर्को ठाउँतर्फ लाग्छन् । आज यहाँ, भोलि अर्कै ठाउँ । आफ्नै नाममा एक टुक्रा जमिन छैन । यही कारण उनीहरू राज्यका धेरै सेवाबाट बाहिर छन् ।
यस पटकको चुनावलाई भने मगन्ते समुदायले ध्यानपूर्वक हेरिरहेका छन् । उनीहरूका लागि यो चुनाव दलको जितहारभन्दा फरक अर्थ राख्छ । उनीहरू भन्छन्, ‘यो चुनावले उनीहरूलाई सम्मानजनक जीवन दिन्छ कि दिँदैन, त्यसको परीक्षा हो ।’समानी अहिमद भन्छन्, ‘हामी मागेर खान चाहँदैनौँ । काम गरेर खान पाउँदा हाम्रो आत्मसम्मान बाँच्छ ।’ उनीहरूको माग ठूलो छैन, ‘आयआर्जनको व्यवस्था, सीपमूलक तालिम, सुरक्षित बसोबास र न्यूनतम सेवा ।’ बस्तीका उम्मेदवारहरू भोट माग्न आउँदा उनीहरूले एउटा मात्र प्रश्न सोध्नेछन्, ‘हामीलाई मागेर होइन, काम गरेर बाँच्ने व्यवस्था हुन्छ कि हुँदैन ?’
बस्तीका बालबालिकाको अवस्था झन् दयनीय छ । उनीहरू विद्यालय जाँदैनन् । किताब, झोला, पोसाक छैन । धेरैजसोको खुट्टामा चप्पलसमेत छैन । सडकछेउ चुनावी पोस्टर टाँसिएका छन्, तर त्यही सडकमा नांगो खुट्टा दौडिरहेका बालबालिकाको भविष्य अनिश्चित छ । सैमुल भन्छिन्, ‘हाम्रा छोराछोरी स्कुल जान पाए भने हामीले जीवनभर माग्नुपर्दैन ।’ उनका लागि शिक्षा नै सबैभन्दा ठूलो परिवर्तन हो । ‘त्यो व्यवस्था गर्ने उम्मेदवार नै हाम्रो उम्मेदवार हो,’ उनी थप्छिन् ।
स्वास्थ्य सुविधा पनि यहाँको अर्को ठूलो समस्या हो । बिरामी पर्दा अस्पताल जान पैसा छैन । चिसोका कारण खोकी, ज्वरो, छाती दुख्ने समस्या धेरैमा देखिन्छ । महिलाहरू सुरक्षित बसोबास र सरसफाइको अभावका कारण झन् जोखिममा छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बाँके जिल्लामा गरिबी दर २६ दशमलब ९२ प्रतिशत पुगेको छ । जिल्लाको कुल जनसंख्या पाँच लाख ९७ हजारभन्दा बढी छ । एक लाख ६० हजारभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ । तर मगन्ते समुदाय अझै पनि तथ्यांक, योजना र राहतको पहुँचबाहिर छ । स्थायी ठेगाना नहुँदा सामाजिक सुरक्षा भत्ता, राहत र सरकारी कार्यक्रम उनीहरूसम्म पुग्दैन ।
चुनावी अभियानका क्रममा उम्मेदवारहरू विकासका ठूला सपना देखाइरहेका छन् । तर त्रिपालमुनिको बस्तीमा सपना सानो छ, ‘सुरक्षित घर, नियमित काम र सम्मानजनक जीवन ।’ फागुन २१ गते मतदान केन्द्रमा मत खस्दा मगन्ते समुदायका यी परिवारहरूले धेरै सोच्नेछन् । उनीहरूका लागि भोट कुनै दलप्रतिको आस्था होइन, जीवन बदल्ने आशा हो ।जफरुद्दीन अन्त्यमा भन्छन्, ‘हामीलाई भाषण चाहिँदैन । घर बस्ने ठाउँ देऊ, काम देऊ । त्यो गर्ने मान्छेलाई नै हाम्रो भोट जान्छ ।’ त्रिपालमुनिबाट उठेको यो आवाज सायद ठूलो सभा जत्तिकै ठूलो छैन । तर यसले लोकतन्त्रको गहिरो अर्थ सम्झाउँछ, ‘भोट केवल सत्ता परिवर्तनको साधन होइन, जीवन परिवर्तनको आशा पनि हो ।’
















