कोहलपुर, माघ २२ आगामी निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी उच्च मनोबलका साथ पूर्ण तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित ढंगले सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भइसकेको दाबी गरे ।
प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको सम्पूर्ण चरण—उम्मेदवारी दर्तादेखि मतदान, मतपेटिका ढुवानी र मतगणनासम्म—सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर योजना बनाइएको बताए । ‘चुनावको सुरक्षाका लागि नेपाल प्रहरी पूर्ण रूपमा सक्षम छ । आवश्यक जनशक्ति परिचालन, गस्ती तथा निगरानीका सबै व्यवस्था मिलाइसकिएको छ,’ उनले भने।
उनका अनुसार स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समन्वय गर्दै संयुक्त सुरक्षा रणनीति कार्यान्वयन गरिनेछ । संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षा सतर्कता अपनाइने र आवश्यकताअनुसार अतिरिक्त जनशक्ति परिचालन गरिने उनले जानकारी दिए ।
प्रहरी महानिरीक्षक कार्कीले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिइने स्पष्ट पारे । उनले निर्वाचनका बेला अफवाह, हिंसा वा अव्यवस्था सिर्जना गर्ने प्रयासलाई कडाइका साथ नियन्त्रण गरिने चेतावनी पनि दिए ।निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै उनले सबै पक्षको सहकार्यले मात्र सुरक्षित र सफल निर्वाचन सम्भव हुने बताए ।

















