२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

मतदाता खोज्दै पहाडीका उम्मेदवार तराईमा

बाँके, माघ २५ आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्लामा केन्द्रित हुन थालेका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत माग्न रूपन्देही र कपिलवस्तुमा भेला, बैठक र छलफल कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये एक हिमाली जिल्ला पूर्वी रुकुम र पाँच पहाडी जिल्ला रहेका छन् । पहाडी जिल्लाबाट ठूलो संख्यामा मतदाता बसाइँसराइ गरी रूपन्देही, कपिलवस्तु, दाङ, काठमाडौँलगायत क्षेत्रमा बसोबास गर्दै आएका छन् । तर उनीहरूले मतदाता नामावली स्थानान्तरण नगरेकाले उम्मेदवारहरू निर्वाचनको समयमा जिल्ला बाहिर रहेका मतदाताकै बसोबास क्षेत्रमा पुगेर मत माग्न बाध्य भएका हुन् ।

गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल, नेपाली कम्युनिष्ट पार्टीका शुदर्शन बरालसहित १० राजनीतिक दलका उम्मेदवार र ११ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । उम्मेदवारहरूले बुटवल र भैरहवामा कार्यकर्ता भेला गरी फागुन २१ गते मतदानका लागि जिल्ला फर्कन आह्वान गरिरहेका छन् ।

एमाले उम्मेदवार ज्ञवालीले रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्रै गुल्मीका झण्डै १० हजार मतदाता रहेको अनुमान गर्दै जिल्ला बाहिर रहेका मतदातालाई निर्वाचनमा सहभागी गराउन भेटघाट र छलफललाई प्राथमिकता दिइएको बताए । यसअघिका निर्वाचनमा पनि यस्तै अभ्यास हुँदै आएको उल्लेख गर्दै यसपटक विशेष परिस्थितिका कारण मतदाता खोज्न थप चुनौती बढेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले २०७९ को निर्वाचनमा रूपन्देही जिल्लाबाट मात्रै करिब ४ हजार ५०० मतदाता मतदानका लागि गुल्मी पुर्‍याएको स्मरण गराउँदै यसपटक पनि बुटवल केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले एकपटक भेला सम्पन्न भइसकेको र आगामी दिनमा थप कार्यक्रम गर्ने तयारी रहेको जानकारी दिए ।

गुल्मी क्षेत्र नम्बर २ मा १० राजनीतिक दल र १२ स्वतन्त्रसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका भुवन श्रेष्ठ, नेकपाका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी प्रमुख प्रतिस्पर्धी हुन् । यस क्षेत्रमा एक लाख सात हजार ३६३ मतदाता रहेका छन् । एमाले उम्मेदवार विष्टले बुटवलमा तीन दिनसम्म पालिकास्तरीय कार्यक्रम तथा मतदातासँग भेटघाट सम्पन्न गरी जिल्ला फर्किएको बताए ।

पाल्पा क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५३ जना मतदाता रहेका छन् । यस क्षेत्रमा १४ राजनीतिक दल र दुई स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमाले उम्मेदवार ठाकुर गैरेले स्थायी बसोबास र रोजगारीका कारण बुटवल, भैरहवालगायत क्षेत्रमा रहेका मतदातालाई मतदानका लागि जिल्लामा फर्कन प्रेरित गर्न पार्टीले कार्यक्रम गर्ने योजना बनाएको बताए । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोमप्रसाद पाण्डेले माघ १८ गते बुटवलमा पत्रकार सम्मेलन गरी जिल्ला बाहिर रहेका मतदातालाई मतदानका लागि निमन्त्रणा गरेका थिए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेका छन् । एमाले उम्मेदवार पिताम्बर भुसालले जिल्लाका कुल मतदातामध्ये झण्डै ४० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको बताउँदै बुटवल, भैरहवा, कपिलवस्तु, काठमाडौँ र दाङमा मतदाता भेटघाट गरिएको जानकारी दिए । आवश्यक परे थप कार्यक्रम गरिने उनले बताए ।

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनालले जिल्लामा मात्र केन्द्रित भएर सबै मतदातासम्म पुग्न सम्भव नभएकाले बाहिरी जिल्लामा पनि कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताए । पोखरा, काठमाडौँ, रूपन्देही र कपिलवस्तुमा ठूलो संख्यामा मतदाता रहेकाले उनीहरूलाई निर्वाचनमा सहभागी गराउन कार्यक्रम गरिएको उनले उल्लेख गरे ।
प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार जिल्ला बाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउन निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रम विभिन्न सञ्चार माध्यममार्फत् प्रकाशन तथा प्रसारण भइरहेको र राजनीतिक दलहरूले पनि आ–आफ्नो तर्फबाट मतदाता केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।