नेपालगन्ज, फागुन १४ प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जानकी गाउँपालिकामा आयोजित चुनावी आमसभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो दलको संकल्प, प्राथमिकता र आगामी पाँच वर्षका योजनाबारे विस्तृतरूपमा जानकारी दिएका छन् ।
सभामा उपस्थित स्थानीय बासिन्दा, कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गर्दै सभापतिले अघिल्लो समय सरकारको गति र मति ठीक नभएको बताएका छन् ।उनले भने, ‘अघिल्लो समयमा सरकार बनाउने काममै ध्यान गएको थियो, तर त्यो समय खेर गएको हो । अब पछिल्ला क्षतिको माग पूरा गर्न तिव्र गतिमा काम गर्नु आवश्यक छ ।’
थापाले आगामी पाँच वर्षको कार्यतालिका स्पष्ट पार्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘यो पाँच वर्षमा असामान्यरुपमा काम गर्नुपर्छ । थन्किएका पूर्वाधार छोटो समयमा सम्पन्न गर्न न केवल योजना मात्र बनाउनुपर्छ, तर ती योजनाहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न उच्च गति र जोखिम लिन तयार हुनुपर्छ ।’



















