चितवन, चैत ८ जिल्ला प्रहरी कार्यालय चितवन ले आन्तरिक पर्यटन प्रवर्द्धन तथा प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ। युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले केही समय रोकिएको कार्यक्रम फेरि सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कार्यरत प्रहरी कर्मचारीलाई फरक,फरक भूगोलमा पठाएर त्यहाँका पर्यटकीय गन्तव्य अवलोकन गराउने गरिएको छ। यसबाट प्रहरी कर्मचारीले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अनुभव लिने मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी का अनुसार कार्यक्रमको मुख्य उद्देश्य प्रहरीलाई नियमित कार्यको तनावबाट केही समय राहत दिलाउनु हो। “प्रहरीको काम स्वभावतः चुनौतीपूर्ण र तनावपूर्ण हुन्छ। यस्तो अवस्थामा यस्ता कार्यक्रमले उनीहरूलाई पुनर्ताजगी दिन्छ,” उनले भने।
उनका अनुसार कार्यक्रमअन्तर्गत डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङलगायत पर्यटकीय गतिविधि सञ्चालन गरिँदै आएको छ। साथै चितवन राष्ट्रिय निकुञ्ज भित्र समेत प्रहरीलाई सहभागी गराई वन्यजन्तु अवलोकन तथा प्राकृतिक वातावरणको अनुभव गराउने गरिएको छ।
प्रहरी कर्मचारीहरूलाई छिमेकी जिल्लासम्म पुगेर त्यहाँका पर्यटकीय सम्पदा अवलोकन गर्ने अवसर समेत प्रदान गरिन्छ। यस क्रममा उनीहरूले नयाँ ठाउँको भूगोल, संस्कृति र जीवनशैलीबारे जानकारी हासिल गर्नुका साथै अनुभव साटासाट गर्ने अवसर पाउँछन्।
कार्यक्रमले प्रहरीबीच आपसी सम्बन्ध सुदृढ बनाउन, सहकार्यको भावना विकास गर्न र टोलीगत कार्यमा सुधार ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। आलोपालो प्रणालीमार्फत सञ्चालन गरिने यस कार्यक्रमबाट हालसम्म अधिकांश प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन्।
करिब एक वर्षअघि सुरु गरिएको ‘घुमौँ चितवन’ कार्यक्रमले प्रहरीलाई सरुवा भएर नयाँ स्थानमा जाँदा आवश्यक पर्ने भूगोलसम्बन्धी ज्ञानसमेत प्रदान गर्ने विश्वास लिइएको छ। यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल नेपाल प्रहरी अन्तर्गत चितवन जिल्लामा करिब नौ सय प्रहरी कर्मचारी कार्यरत छन्। जिल्ला ट्राफिक कार्यालय, आठ वटा इलाका प्रहरी कार्यालयसहित ७३ वटा युनिटमार्फत प्रहरीले सेवा प्रवाह गर्दै आएको छ।
यस कार्यक्रमले प्रहरी कर्मचारीको कार्यक्षमता वृद्धि गर्नुका साथै चितवनको पर्यटकीय सम्भावनालाई उजागर गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।



















