२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

रेसुङ्गा विमानस्थलमा उडान विस्तार भाडा बढ्यो, उडान थपियो

गुल्मी, वैशाख ६  गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब सातामा चार दिन नियमित हवाई उडान सञ्चालन हुने भएको छ । नेपाल वायुसेवा निगम ले उडान संख्या थप्दै नयाँ तालिका सार्वजनिक गरेसँगै जिल्लावासीका लागि हवाई पहुँच अझ सहज बनेको हो । यसअघि सातामा तीन दिन मात्रै उडान हुँदै आएकोमा अब आइतबार, मंगलबार, बिहीबार र शनिबार नियमित सेवा सञ्चालन गरिने निगमले जनाएको छ । निगमका अनुसार आन्तरिक उडानमा प्रयोग हुने ट्विनअटर जहाजको मर्मतसम्भार सम्पन्न भएसँगै उडान संख्या विस्तार गरिएको हो । रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार उडान थपिएसँगै हवाई भाडादर पनि बढाइएको छ । नयाँ दरअनुसार काठमाडौंबाट रेसुङ्गाका लागि १० हजार ९०२ रुपैयाँ र रेसुङ्गाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि भने काठमाडौंबाट ७ हजार ५०० र रेसुङ्गाबाट ७ हजार ३०० रुपैयाँ मात्रै भाडा लाग्दै आएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि मुख्य कारण देखाउँदै करिब ३ हजार ४०० रुपैयाँसम्म भाडा बढाइएको उनले बताए ।

हाल १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत सेवा दिइँदै आएको छ । मौसम प्रतिकूल नभएसम्म पछिल्ला पाँच महिनादेखि नियमित उडान हुँदै आएको निगमले जनाएको छ । प्राविधिक कारणले दिउँसो हावाको चाप बढी हुने भएकाले बिहानको समयमा मात्रै उडान तालिका राखिएको स्टेशन प्रमुख थापाको भनाइ छ । नयाँ तालिकाअनुसार आइतबार काठमाडौंबाट बिहान ८ः०५ बजे उडान भई रेसुङ्गाबाट ९ः०५ बजे फर्किनेछ । मंगलबार, बिहीबार र शनिबार भने काठमाडौंबाट बिहान ६ः१५ बजे र रेसुङ्गाबाट ७ः१५ बजे उडान हुनेछ ।

हवाई सेवा नियमित भएपछि गुल्मीमा आउने पर्यटकको संख्या समेत बढ्दो देखिएको छ । यसअघि राजधानी पुग्न १६ देखि १८ घण्टासम्म लाग्ने लामो सडक यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले भने हवाईमार्गबाट करिब ४५ देखि ५० मिनेटमै काठमाडौं आवतजावत गर्न सकिने भएको छ । रेसुङ्गा विमानस्थलबाट नेपाल वायुसेवा निगम ले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । हाल उडान संख्या वृद्धि भएसँगै जिल्लाको आवागमन र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।