२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

पालिका केन्द्र विवादले चिंगाडमा सेवा ठप्प

सुर्खेत, वैशाख ९  चिंगाड गाउँपालिका मा पालिका केन्द्रको विषयलाई लिएर चर्किएको विवादका कारण एक सातादेखि सेवा प्रवाह प्रभावित बनेको छ । अस्थायी रूपमा वडा नं. ५ अवल्चिङबाट सञ्चालन हुँदै आएको कार्यालयलाई वडा नं. २ राजीकुनामा सार्ने निर्णयपछि स्थानीय तहमा तनाव बढेको हो ।

गत चैत २६ गते सम्पन्न गाउँसभाले राजीकुनास्थित सामुदायिक भवनबाट प्रशासनिक कामकाज सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णयमा उपाध्यक्ष मिना कुमारी रोकायसहित वडा नं. ५ बाट निर्वाचित जनप्रतिनिधिहरूले फरक मत राखेका थिए । यसअघि २०७५ माघ ७ गते मतदानमार्फत वडा नं. २ पुङ खेतलाई केन्द्र निर्धारण गरिएको र २०७८ साउन ११ गते नेपाल सरकारको राजपत्रमार्फत औपचारिक रूपमा केन्द्र तोकिएको थियो ।

तर अवल्चिङमै केन्द्र कायम गर्नुपर्ने मागसहित दायर रिटमाथि सर्वोच्च अदालत ले अन्तरिम आदेश जारी गर्दै तत्काल निर्णय कार्यान्वयन नगर्न भनेपछि विवाद झन् पेचिलो बनेको छ । मुद्दा विचाराधीन रहेको अवस्थामा पुनः राजीकुनाबाट सेवा सञ्चालन गर्ने निर्णय हुँदा स्थानीयस्तरमा विरोध चुलिएको हो । आइतबार अवल्चिङस्थित कार्यालयबाट सामग्री सार्न खोज्दा स्थानीयबीच झन्डै मुडभेडको अवस्था सिर्जना भएपछि सुरक्षा सतर्कता बढाइएको छ । सोमबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब एक सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए ।

विवादका कारण गाउँपालिकाका कर्मचारी पनि अन्योलमा परेका छन् । गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले गाउँसभाको निर्णय कार्यान्वयन गर्न दबाब दिँदा अवल्चिङ पक्षधरले त्यसको विरोध गरिरहेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार भट्टका अनुसार चैत २७ गतेदेखि न त अवल्चिङबाट न त राजीकुनाबाट नियमित सेवा सञ्चालन हुन सकेको छ । दुवै पक्षबीच संवादको अभाव हुँदा समस्या समाधान अझै टाढिएको देखिन्छ । अध्यक्ष जिसीले बहुमतको निर्णय कार्यान्वयन हुनुपर्ने बताए पनि वडा नं. ५ का अध्यक्ष लालबहादुर जिसीले अदालतको अन्तिम फैसला नआएसम्म कुनै निर्णय स्वीकार्य नहुने अडान राखेका छन् । विवाद समाधानका लागि सहमति आवश्यक भए पनि हालसम्म ठोस पहल हुन नसक्दा स्थानीय सेवा पूर्ण रूपमा प्रभावित बनेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।