चौमाला (कैलाली), भदौ ४ गते । कैलालीमा विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गराइदिने प्रलोभन देखाएर दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका एक सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्। उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार धनगढी उपमहानगरपालिका–१ स्थित एक डेरी पसलबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियार कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक वृद्धि गराइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेका थिए। सोही रकम लिन डेरी पसल पुगेका बेला अख्तियारको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो।

अख्तियारले बमको साथबाट दुई लाख रुपैयाँ बरामद गरेको जनाएको छ। उहाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको सूचना अधिकारी भट्टले बताउनुभयो।
अख्तियारले घटनामा संलग्न अन्य व्यक्ति वा पक्षको भूमिका रहे–नरहेको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।
















