सिमरा,भदौ–४ गते। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको अनुसन्धानप्रति असन्तुष्ट पीडित परिवार र स्थानीयवासीको आक्रोश चुलिएको छ। घटनामा प्रहरीको लापरबाही भएको आरोप लगाउँदै उनीहरूले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।
पीडित परिवार र स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीलाई कारबाही गर्नुपर्ने तथा बालिकाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही, फाँसी दिनुपर्ने माग गर्दै बिहीबार कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सिमरा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ।
तनाव कम गर्न पीडित परिवार र स्थानीयवासीसँग वार्ताको प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।
प्रहरीले बालिका गरिमामाथि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

घटनाको विरोधमा स्थानीयवासीले दुई दिनदेखि जीतपुरसिमरा क्षेत्रका मुख्य तथा ग्रामीण सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। वीरगन्ज–पथलैया औद्योगिक मार्गअन्तर्गत सिमरा, सिमरा–डुमरवाना तथा पिलुवा–वडहर्वा सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प पारिएको छ। बुधबार दिउँसोदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडकमा बिहीबार पनि यातायात सञ्चालन हुन सकेको छैन।
पीडित परिवारका सदस्यहरूले प्रहरीले समयमै खोजी नगरेका कारण गरिमालाई बचाउन नसकिएको आरोप लगाएका छन्। मृतकका बुवा मनोज चौधरीले छोरी हराएपछि नै इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराए पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको दाबी गरे।
उनका अनुसार समयमै खोजी तलास गरिएको भए छोरीको ज्यान जोगिन सक्ने अवस्था थियो। उनले घटनामा प्रहरीको भूमिकाको छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने माग गरेका छन्।
‘यो तीन वर्षीया बालिकामाथि भएको क्रूर व्यवहारले निम्त्याएको विद्रोह हो। हामी न्यायको खोजीमा छौँ,’ पीडित परिवारका एक सदस्यले भने, ‘दोषीलाई हदैसम्मको कारबाही होस्, जसले गर्दा यस्ता घटना फेरि नदोहोरिऊन्।’
बिहीबार बिहानैदेखि प्रदर्शनकारीले उपमहानगरपालिकाभित्रका राजमार्ग तथा ग्रामीण सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। सडक अवरोधका कारण यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालयसमेत बन्द गरिएका छन्। विद्यालयहरूले बिहीबार शोकसभा आयोजना गर्दै तीन वर्षीया बालिकामाथि भएको क्रूर घटनाप्रति दुःख व्यक्त गरेका छन्।
निजी तथा सामुदायिक विद्यालयहरूले विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्। बालिकामाथि भएको घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको उनीहरूको भनाइ छ।
घटनापछि स्थानीयस्तरमा प्रहरी अनुसन्धान र सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। पीडित परिवारले निष्पक्ष अनुसन्धान, प्रहरीको भूमिकाको छानबिन र दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलन जारी राख्ने संकेत गरेका छन्।
प्रशासनले भने प्रदर्शनका क्रममा उत्पन्न तनावलाई नियन्त्रणमा लिँदै पीडित परिवार र स्थानीयवासीका मागबारे संवादमार्फत समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ।
















