२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

भेरी अस्पतालको स्पष्टोक्ति उपचारमा लापरबाही होइन, धम्की र आक्रमणविरुद्ध कानुनी कारबाही होस्‌

नेपालगन्ज, वैशाख १६  भेरी अस्पतालले उपचाररत एक ६२ वर्षीया बिरामीको मृत्यु प्रकरणबारे स्पष्टोक्ति दिँदै उपचार प्रक्रियामा कुनै लापरबाही नभएको दाबी गरेको छ । अस्पतालले दीर्घरोग, बहुजटिल स्वास्थ्य अवस्था र नियन्त्रण बाहिरका चिकित्सकीय कारणले मृत्यु भएको भन्दै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको हो ।

अस्पतालका अनुसार बैजनाथ–६, बाँके निवासी ती महिला पेट तथा छातीसम्बन्धी समस्या लिएर २०८३ वैशाख ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई ग्यास्ट्राइटिस, हाइपोथाइराइडिज्म, उच्च रक्तचाप र टाइप–२ मधुमेहजस्ता दीर्घरोगसमेत रहेको थियो । उपचारका क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएपछि कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखिएको तथा इसिजी, इको र कार्डियाक इन्जाइम लगायतका परीक्षण पटक–पटक गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बहुविधागत उपचार प्रणाली अपनाउँदै ग्यास्ट्रोलोजिस्ट र मनोरोग विशेषज्ञको समेत परामर्श लिएको जनाएको छ । तर सबै स्थापित चिकित्सा विधि अपनाउँदा पनि स्पष्ट निदान कठिन भएको अवस्थामा २०८३ वैशाख ११ गते ‘क्रस ओपिनियन’ का लागि अन्यत्र रिफर गरिएको थियो ।

तर बिरामीको अवस्थामा केही सुधार देखिएपछि उपचार अस्पतालमै जारी राखिएको र सोही क्रममा २०८३ बैशाख १३ गते अचानक अवस्था बिग्रिँदा मृत्यु भएको अस्पतालको भनाइ छ । घटनापछि बिरामीका आफन्तसँग छलफल गरी उपचार प्रक्रियाबारे जानकारी दिइएको र वैशाख १४ गते सांसद खगेन्द्र सुनार, पूर्वराज्यमन्त्री दलबहादुर सुनार तथा अस्पताल प्रशासनबीच पुनः विस्तृत छलफल भएको उल्लेख गरिएको छ । सो छलफलमा चिकित्सकीय सीमितता र जटिल रोगका कारण यस्ता घटना हुनसक्ने प्रष्ट पारिएको अस्पतालले जनाएको छ । अस्पतालले यदि उपचारमा नियतवश त्रुटि भएको प्रमाणित भएमा कानुनी बाटो अपनाउन सकिने स्पष्ट पारेको छ । तर दबाबका आधारमा लापरवाही स्वीकार नगर्ने अडान पनि दोहोर्‍याएको छ । यसैबीच, २०८३ बैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, धम्की र आक्रमण प्रयास गरेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको भन्दै अस्पतालले गम्भीर आपत्ति जनाएको छ ।

अस्पताल प्रशासनले यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको बताउँदै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साथै, सामाजिक सञ्जालमा फैलाइएका अनर्गल आरोप, धम्की र गलत प्रचारप्रति अस्पतालले आपत्ति जनाउँदै यसले चिकित्सक–बिरामी सम्बन्ध र सामाजिक सद्भावमा असर पार्ने चेतावनी दिएको छ । अस्पतालले यस्ता दबाब र असुरक्षाका कारण केही सेवा प्रभावित हुन सक्ने संकेत गर्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । अन्त्यमा, भेरी अस्पताल सधैं बिरामीको जीवनरक्षा र उपचारमा समर्पित संस्था भएको उल्लेख गर्दै चिकित्सकहरूको उद्देश्य बिरामीलाई निको पार्नु नै रहेको स्पष्ट पारेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।