२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

सार्वजनिक सुनुवाईपछि नेपालगञ्ज उपमहानगरका सात बुँदे प्रतिबद्धता

नेपालगञ्ज ।   नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गर्दै सात बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ । बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाईमा नगरको विकास, सरसफाइ, पूर्वाधार तथा सामाजिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

सुनुवाईमा लायन्स गेटदेखि राँझा विमानस्थलसम्म सौन्दर्यकरण गर्ने तथा सडक दायाँबायाँ अपाङ्गतामैत्री फुटपाथ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै नेपालगञ्ज–६ मा क्रिकेट मैदान निर्माणका लागि यसअघि पठाइएको प्रस्ताव हालसम्म स्वीकृत नभएकाले असारभित्र पुनः डेलिगेशनमार्फत स्वीकृतिको पहल गरिने जनाइएको छ ।

त्यसैगरी बागेश्वरी मन्दिर परिसर तथा नगरका विभिन्न स्थानमा खुला रूपमा बस्दै आएका जेष्ठ नागरिक र असहाय व्यक्तिहरुको पहिचान गरी व्यवस्थापनको पहल गरिने भएको छ । दोन्द्रा नाला आसपास तथा नगरका विभिन्न स्थानमा भएको जग्गा अतिक्रमण यथासक्य खाली गराउने प्रतिबद्धता पनि उपमहानगरपालिकाले जनाएको छ ।

वडा नम्बर ४ स्थित एबिसी स्कुल जाने बाटो छेउँको खाली जमिनमा फोहोर थुपारिने गुनासो आएपछि तत्काल अनुगमन गरी त्यस्तो कार्य रोक्न पहल गरिने उल्लेख गरिएको छ । बढ्दो इ–रिक्सा सञ्चालनलाई व्यवस्थित गर्न तत्काल योजना अघि बढाइने र सार्वजनिक स्थान तथा सडक किनारमा जथाभावी फोहोर फाल्ने कार्य नियन्त्रण गर्न सिसी क्यामेरा जडान गरी निगरानी बढाइने प्रतिबद्धता पनि सुनुवाईमार्फत गरिएको छ ।

यसैगरी सुर्खेत रोडको सडक पेटी व्यवस्थापन, स्थानीय कृषकका उत्पादनको बजारीकरणका लागि आवश्यक सहकार्य तथा वडा नम्बर ९ स्थित मालपोत र जिल्ला अदालत जोड्ने बाटो निर्माणका लागि आवश्यक पहल गरिने जनाइएको छ । आगामी आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत उपमहानगरपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाईमा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुत गरेका थिए ।

खुला छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम तथा विभिन्न वडा अध्यक्षहरुले दिएका थिए । करिब तीन घण्टा सञ्चालन भएको सुनुवाई कार्यक्रममा दुई सयभन्दा बढी नगरवासीको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।