कञ्चनपुर, जेठ ५ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ रकुली टोलमा एक पुरुष आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान करिब ६ः४५ बजे ४५ वर्षीय लिलाराम सुनार आफ्नै सुत्ने कोठामा मृत फेला परेका हुन् ।
धारिलो हतियार प्रहार गरी मृत अवस्थामा रहेको जानकारी उनकी श्रीमती ३६ वर्षीया यसोदा सुनारले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा गराएकी थिइन् । सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो । बिहान ७ः०५ बजे घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्दा लिलाराम सुनार रक्ताम्य अवस्थामा मृत फेला परेको जनाएको छ ।
घटनास्थलबाट प्रयोग गरिएको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मृतककी श्रीमती यसोदा सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको हिरासतमा राखेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने प्रहरीले जनाएको छ ।















