सीप सिक्न नेपालगन्ज पुगे । हाउस वायरिङ तालिम लिए । गाउँका हजारौं युवाजस्तै उनको मनमा पनि विदेश जाने सपना पलायो । ‘विदेश गए जीवन बदलिन्छ’ भन्ने आशाले उनलाई वि.सं. २०६२ सालमा मलेसिया पुर्यायो । तर, मलेसियाले उनको सपनालाई चम्किलो भविष्य होइन, कठोर यथार्थसँग परिचित गरायो । गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा काम गर्दा उनले साँघुरो कोठा, थकित शरीर, मानसिक दबाब र निरन्तरको श्रम भोगे ।
नेपालगन्ज, जेठ ६ कर्णाली राजमार्ग हुँदै जुम्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला पुग्दा यात्रुहरू अकस्मात् रोकिन्छन् । सडक किनारको एउटा घरको छतमाथि नेपाली झण्डा अंकित जहाज देखिन्छ । कसैले फोटो खिच्छन्, कसैले भिडियो बनाउँछन् । धेरैलाई त्यो रमाइलो दृश्य लाग्छ । तर, त्यो जहाज केवल सजावट होइन, एउटा मान्छेको अधुरो उडान हो ।
त्यो जहाज बनाएका हुन् जुम्लाका टक्कबहादुर नेपाली (सार्की) । उनीसँग न ठूलो डिग्री छ, न आधुनिक प्रयोगशाला, न राज्यको बलियो साथ । तर, उनीसँग एउटा जिद्दी मन छ—बारम्बार असफल हुँदा पनि फेरि सपना देखिरहने मन । जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा वि.सं. २०४० सालमा जन्मिएका टक्कबहादुर बाल्यकालदेखि नै फरक स्वभावका थिए । गाउँका अरू बालबालिका खेलिरहँदा उनी काठ र माटोबाट गाडी, हेलिकप्टर र जहाज बनाउँथे । विज्ञान र प्रविधिप्रतिको मोह उनको बालापनमै देखिन्थ्यो ।
तर, पढाइमा भने उनी अब्बल विद्यार्थी बन्न सकेनन् । वि.सं. २०५८ सालमा एसएलसी परीक्षामा अनुत्तीर्ण भए । दोस्रो प्रयासमा बल्ल परीक्षा पास गरे । समाजले उनलाई कमजोर विद्यार्थीका रूपमा हेर्यो, तर जीवनले भने उनलाई अर्कै बाटोमा लैजाँदै थियो । घरको आर्थिक अवस्था कमजोर थियो । जेठो छोरा भएकाले जिम्मेवारी चाँडै काँधमा आयो । उच्च शिक्षा पढ्ने सपना गरिबीले बीचमै रोकिदियो । त्यही बेला उनले एउटा कठोर यथार्थ बुझे—कर्णालीमा धेरै सपना क्षमता अभावले होइन, अवसर अभावले मर्छन् ।
त्यसपछि उनी सीप सिक्न नेपालगन्ज पुगे । हाउस वायरिङ तालिम लिए । गाउँका हजारौं युवाजस्तै उनको मनमा पनि विदेश जाने सपना पलायो । ‘विदेश गए जीवन बदलिन्छ’ भन्ने आशाले उनलाई वि.सं. २०६२ सालमा मलेसिया पुर्यायो । तर, मलेसियाले उनको सपनालाई चम्किलो भविष्य होइन, कठोर यथार्थसँग परिचित गरायो । गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा काम गर्दा उनले साँघुरो कोठा, थकित शरीर, मानसिक दबाब र निरन्तरको श्रम भोगे । मासिक ४ सय १० रिंगेट तलबले जीवन बदलिने रहेनछ ।
‘त्यो जीवन मैले सोचेको जस्तो थिएन,’ उनी सम्झन्छन्, ‘त्यहाँ मानिसभन्दा मेसिनको मूल्य बढी थियो ।’ एक वर्षमै उनी नेपाल फर्किए । विदेशले उनको हातमा धेरै पैसा राखेन, तर एउटा गहिरो चेतना दियो—आफ्नै माटोमा बगाएको पसिना परदेशको पीडाभन्दा सानो हुँदैन । नेपाल फर्किएपछि उनले शिक्षक बन्ने बाटो रोजे । सेतीबाडा निमाविमा विज्ञान पढाउन थाले । योग्यता एसएलसी मात्रै थियो । सरकारी शिक्षक होइन, निजी कोटाको सामान्य शिक्षक । तर, उनी किताब घोकाएर पढाउने शिक्षक थिएनन् । विज्ञानलाई छुन, हेर्न र बनाउन सकिन्छ भन्ने विश्वास राख्थे ।
त्यही क्रममा उनले विद्युतीय भोटिङ मेसिन बनाए । गाउँमै बनेको त्यो मेसिनले जुम्लाभर चर्चा पायो । सञ्चारमाध्यममा समाचार बन्यो । तत्कालीन लाम्रा गाविसले १० हजार रुपैयाँसहित सम्मान गर्यो । जिल्ला विकास समितिले पनि प्रशंसा गर्यो । त्यसपछि उनी मेसिन बोकेर काठमाडौं पुगे । निर्वाचन आयोगले परीक्षण गरेर राम्रो भएको प्रतिक्रिया दियो । उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पठाइयो । तर, त्यहाँ पुग्दा उनले फेरि अर्को यथार्थसँग ठोक्किनुपर्यो—त्यो प्रविधिको पेटेन्ट भारतसँग रहेछ ।
‘त्यो बेला मलाई लाग्यो, मेरो सपना कसैले बीच बाटोमै खोसेर लगिदियो,’ उनी भन्छन् । तर, उनले सपना देख्न छाडेनन् । त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा बसेर उनले अनेक प्रयोग गरे । टोपीमै सोलार राखेर मोबाइल चार्ज हुने प्रणाली बनाए । साइकल चलाउँदा चार्ज हुने डायनामा बनाए । तर, ती कुनै उत्पादन बजारमा स्थापित हुन सकेनन् । सफलता नआउँदा धेरै मानिस सपना त्याग्छन् । तर, टक्कबहादुरका लागि असफलता अन्त्य होइन, अर्को सिकाइ थियो ।
पछि उनले अझ असम्भवजस्तो सपना देखे, आकाशमा उड्ने सपना । वि.सं. २०७४ सालमा उनले युट्युब हेरेर प्याराग्लाइडिङ तयार गरे । गाउँमा धेरैले विश्वास गरेनन् । कतिले हाँसे, कतिले ‘यो सम्भव छैन’ भने । तर, परीक्षण सफल भयो । त्यो दिन केवल एउटा मेसिन उडेको थिएन, टक्कबहादुरको आत्मविश्वास उडेको थियो । उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाए । विभिन्न निकायबाट झन्डै सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘उद्यमी राष्ट्रिय पुरस्कार’ दियो ।
तर, फेरि उही कथा दोहोरियो । उनले व्यावसायिक उडान अनुमति पाएनन् । अहिले उनले बनाएको प्याराग्लाइडिङ घरमै थन्किएको छ—ठ्याक्कै कर्णालीका धेरै सपनाझैं ।
जहाँ प्रतिभा हुन्छ, तर प्रणाली हुँदैन ।
जहाँ क्षमता हुन्छ, तर पहुँच हुँदैन ।
जहाँ सपना हुन्छ, तर राज्यको साथ हुँदैन ।
सायद त्यसैले अहिले उनले घरको छतमाथि जहाज बनाएका छन् । त्यो जहाज व्यापारका लागि होइन । त्यो उनको जीवनको प्रतीक हो । उड्न नपाएका सपनाहरूको स्मारक हो । ‘मानिसहरूले प्लेन भएको घर भनेर चिनून् भन्ने पनि हो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘तर, यो मेरो कला हो, मेरो सपना हो ।’ आज त्यो घर कर्णाली राजमार्ग हुँदै गुड्ने यात्रुका लागि आकर्षण बनेको छ । मानिसहरू त्यहाँ टिकटक बनाउँछन्, फोटो खिच्छन् । तर, कमैले बुझ्छन्, त्यो जहाज वास्तवमा एउटा संघर्षको कथा हो । टक्कबहादुर नेपालीको जीवनले एउटा प्रश्न उठाउँछ—यदि अवसर पाएको भए, कर्णालीका यस्ता प्रतिभा कहाँसम्म पुग्थे होलान् ?
गरिबी, अभाव र असफलताबीच पनि उनी अझै सपना देखिरहेका छन् । त्यसैले उनी केवल जहाज बनाउने मानिस होइनन्, उड्न नपाएका सपनाहरूलाई जोगाइराख्ने मान्छे हुन् ।















