मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुगेका उनका परिवारका अनुसार सुरुमा दलालहरूले अमेरिका पुर्याउने भन्दै १७ लाख रुपैयाँ लिएका थिए । पछि विभिन्न चरणमा थप रकम माग्दै करिब ९७ लाख रुपैयाँसम्म असुलिएको आरोप छ । युवकलाई नेपालबाट भारत, त्यसपछि जर्मनी हुँदै ब्राजिल पुर्याइएको परिवारको भनाइ छ ।
कोहलपुर, जेठ १० बाँकेको कोहलपुरका २६ वर्षीय एक युवकले परिवारको आर्थिक अवस्था फेरिने आशामा अमेरिका जाने निर्णय गरे । गाउँमै आएका एजेन्टहरूले ‘अमेरिका पुगेपछि केही महिनामै लाखौं कमाइन्छ’ भन्दै परिवारलाई विश्वस्त पारे । घरधन्दा बेचेर, ऋण खोजेर र आफन्तसँग पैसा उठाएर परिवारले दलाललाई रकम बुझायो । तर अमेरिका पुग्ने सपना देखेका ती युवक अन्ततः विदेशी भूमिमा बन्धक बने ।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुगेका उनका परिवारका अनुसार सुरुमा दलालहरूले अमेरिका पुर्याउने भन्दै १७ लाख रुपैयाँ लिएका थिए । पछि विभिन्न चरणमा थप रकम माग्दै करिब ९७ लाख रुपैयाँसम्म असुलिएको आरोप छ । युवकलाई नेपालबाट भारत, त्यसपछि जर्मनी हुँदै ब्राजिल पुर्याइएको परिवारको भनाइ छ । पीडितका बुबाका अनुसार केही दिनपछि आएको भिडियो कलले परिवार स्तब्ध भयो । भिडियोमा छोरा रोइरहेका थिए । ‘मलाई बेचियो, कोठामा थुनेर राखेका छन्, खाना पनि राम्रोसँग दिएका छैनन्,’ भन्दै उनले आफूलाई उद्धार गर्न आग्रह गरेका थिए ।
त्यसपछि परिवारले छोरा बचाउने आशामा दलालले भनेजति रकम विभिन्न बैंक खातामा पठाउँदै गयो । ऋण, साहुको दबाब र छोराको ज्यान जोगाउने चिन्ताले परिवार मानसिक रूपमा भत्किएको पीडितका बुबा बताउँछन् । ‘अमेरिकाको सपना देखायो, अन्त्यमा घरबारै सकियो,’ उनले गहभरि आँसु पार्दै भने । यस्तै प्रकृतिको अर्को घटना रुकुमका ३२ वर्षीय युवकसँग पनि जोडिएको छ । खेतीपाती गरेर जीविका चलाउँदै आएका उनी पनि ‘तल्लो बाटो’ बाट अमेरिका पुर्याउने प्रलोभनमा परे । गाउँकै चिनजानमार्फत सम्पर्कमा आएका एजेन्टले भिसा र रोजगारीको आश्वासन दिएपछि उनले विभिन्न समयमा गरी ५७ लाख रुपैयाँ बुझाएका खबर नागरिक दैनिकमा प्रकाशित छ ।

ती युवकलाई सुरुमा दुबई पठाइएको थियो । तर त्यहाँ पुगेपछि उनको राहदानी र मोबाइल खोसिएको आरोप छ । उनले आफूलाई अपार्टमेन्टमा राखेर जबर्जस्ती घरायसी काममा लगाइएको, नमाने कुटपिट र मानसिक यातना दिइएको बताएका छन् । पछि उनलाई सिरिया लगिएको र महिनौंसम्म अलपत्र पारिएको उनले ब्युरोमा दिएको उजुरीमा उल्लेख गरेका छन् । ‘अब अमेरिका उड्ने अन्तिम प्रक्रिया बाँकी छ भन्दै परिवारसँग थप पैसा माग्न लगाइन्थ्यो,’ उनले भने, ‘पछि एजेन्ट सम्पर्कविहीन भएपछि मात्रै आफू बेचबिखनको जालोमा परेको महसुस भयो ।’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार पछिल्लो समय ‘अमेरिका पठाइदिन्छौं’ भन्दै हुने ठगी र मानव तस्करीका उजुरी बढ्दै गएका छन् । बेरोजगारी, गरिबी र विदेशप्रतिको मोहलाई प्रयोग गर्दै संगठित गिरोहले गाउँका युवालाई निशाना बनाइरहेको उनले बताए ।
उनका अनुसार धेरै युवालाई दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकी मुलुक हुँदै अवैध बाटोबाट अमेरिका लैजाने नाममा बन्धक बनाउने, यातना दिने र परिवारसँग थप रकम असुल्ने गरिएको छ । ब्युरोको तथ्यांकअनुसार अमेरिका पुर्याउने भन्दै ठगी भएको २८ वटा उजुरी दर्ता भएका छन् भने हालसम्म ९ सय ६५ जना विभिन्न मुलुकबाट उद्धार गरी फर्किएका छन् । विदेश गएर परिवारको भविष्य बनाउने सपना अहिले धेरै नेपाली युवाका लागि जोखिमपूर्ण बनेको छ । गाउँघरमा फैलिएका दलालको सञ्जालले ‘अमेरिकी सपना’ बेचिरहेको छ, तर त्यो सपनाको अन्त्य कतिपयका लागि ऋण, यातना र बेचबिखनको अन्धकारमा भइरहेको देखिन्छ ।















