नेपालगञ्ज ,साउन १२ । लुम्बिनी प्रदेश सरकारले भेरी अस्पतालमा मातृ तथा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी बनाउन आगामी आर्थिक वर्षभित्र ५० शैयाको ‘समता भवन’ निर्माण गर्ने घोषणा गरेको छ।
भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले समता भवन निर्माणले आमा तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय, सुरक्षित र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माणको योजना अघि सारिएको बताए।
मन्त्री खत्रीले कोभिड–१९ महामारीपछि भेरी अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर र क्षमता दुवैमा उल्लेखनीय सुधार गरेको भन्दै अस्पतालको थप स्तरवृद्धिका लागि प्रदेश सरकार निरन्तर सहयोगी रहेको बताए।
उनले अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक करिब दुईदेखि साढे दुई करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए। आगामी दिनमा पनि सेवा विस्तार, भौतिक पूर्वाधार विकास तथा दक्ष जनशक्ति व्यवस्थापनका क्षेत्रमा प्रदेश सरकारको सहयोग निरन्तर रहने उनको भनाइ थियो।

भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित भएको उल्लेख गर्दै मन्त्री खत्रीले अस्पताललाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।















