राप्तीसोनारी, साउन २७ राप्तीसोनारी गाउँपालिकामा दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको ६४० क्विन्टल क्षमताको शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमका बीच शीत भण्डारको उद्घाटन गरेका हुन् ।
साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा शंकर वलीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत हाकिम मणिराम खराल, वडा नं. ४ का अध्यक्ष मिनराज खड्का लगायत जनप्रतिनिधि, सहकारीकर्मी र स्थानीय कृषकहरूको सहभागिता रहेको थियो ।
उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शीत भण्डार सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको आलु तथा अन्य कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न सक्ने बताए । उनले बजार अभाव वा मूल्य घटेका बेला किसानले तत्काल बिक्री गर्नुपर्ने बाध्यता कम हुने उल्लेख गर्दै कृषि उत्पादनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यस्ता पूर्वाधार अत्यन्त आवश्यक रहेको बताए ।
अध्यक्ष पौडेलले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिंचाइ, कृषि यान्त्रीकरण, भण्डारण तथा बजारीकरणसँग सम्बन्धित योजनाहरूलाई निरन्तर अघि बढाइरहेको पनि जानकारी दिए । ॅकिसानको उत्पादनलाई सुरक्षित राख्ने र उचित मूल्य दिलाउने दिशामा यो शीत भण्डार महत्वपूर्ण आधार बन्नेछ,’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले शीत भण्डारले विशेष गरी आलु उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिन् । उनले उत्पादनपछि भण्डारणको सुविधा नहुँदा किसानले कम मूल्यमा उपज बिक्री गर्नुपर्ने अवस्था अन्त्यतर्फ जाने बताउँदै महिलासहित साना तथा मध्यम किसानलाई यस पूर्वाधारले ठूलो राहत दिने धारणा राखिन् ।
साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा शंकर वलीका अनुसार हाल शीत भण्डारमा करिब २१० क्विन्टल आलु भण्डारण गरिएको छ । उनले शीत भण्डार सञ्चालनसँगै किसानलाई गुणस्तरीय भण्डारण सेवा उपलब्ध गराइने र आगामी दिनमा यसको उपयोग थप विस्तार गरिने बताए ।
राप्तीसोनारी गाउँपालिका कृषि उत्पादनका हिसाबले बाँकेको महत्वपूर्ण क्षेत्र मानिन्छ । स्थानीय कृषकले उत्पादन गर्ने आलु, तरकारी तथा अन्य कृषि उपजलाई सुरक्षित भण्डारण गर्ने सुविधा अभाव भइरहेका बेला शीत भण्डार सञ्चालनमा आएकाले किसानको उत्पादन व्यवस्थापन र आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

















