जुम्ला, साउन–२८ गते । बजारमा स्याउको माग र मूल्य बढेपछि बाहिरी जिल्लामा पठाउन खोजिएको काँचो स्याउ रोकिएपछि जुम्लामा व्यापारी र कृषि प्राविधिकबीच विवाद देखिएको छ। सुर्खेत र नेपालगञ्जतर्फ लैजान लागिएका तीन गाडी स्याउ गुणस्तर नपुगेको भन्दै प्रहरीले ६ दिनदेखि तातोपानी गाउँपालिकास्थित रारालिही प्रहरी चौकीमा रोकेर राखेको छ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिकाको ६१ कार्टुन र चन्दननाथ नगरपालिकाको २६० कार्टुन स्याउ बजारतर्फ लैजान खोजिएको थियो। स्याउमा आवश्यक गुलियोपना नपुगेको, आकार सानो रहेको र दाना हरियो भएकाले प्राविधिक परीक्षणपछि रोकिएको कार्यालयले जनाएको छ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले स्याउ पूर्णरूपमा नपाकेको र सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकले बाहिरी जिल्लामा पठाउन सिफारिससमेत नगरेको बताए। उनका अनुसार व्यापारीले आवश्यक प्रक्रिया पूरा नगरी स्याउ लैजान खोजेपछि नियन्त्रणमा लिइएको हो।
“स्याउ पाकेको छैन। निर्यातका लागि स्थानीय तहका प्राविधिकले सिफारिस पनि दिएका छैनन्। मनपरी रूपमा लैजान लागेको काँचो स्याउ रोकिएको हो,” अधिकारीले भने, “कृषि प्राविधिकबाट परीक्षण गराएर सिफारिस लिएपछि मात्रै स्याउ लैजान आग्रह गरिएको छ।”

उनका अनुसार रोकिएका गाडीमा रहेका स्याउ एउटै जातका र एकैनासका समेत छैनन्। गुणस्तर परीक्षण नगरी बजारमा पठाउँदा जुम्लाको स्याउको पहिचान र बजारमा रहेको विश्वासमा असर पर्न सक्ने भएकाले मापदण्ड पूरा भएपछि मात्रै बाहिर पठाउने व्यवस्था गरिएको कार्यालयको भनाइ छ।
जिल्लामा भएको सर्वपक्षीय बैठकले स्याउ पूर्णरूपमा नपाकेसम्म जुम्लाबाहिर लैजान नदिने निर्णय गरेको छ। स्थानीय तह, कृषि प्राविधिक, व्यापारी तथा अन्य सरोकारवालाको सहभागितामा भएको बैठकले स्याउको गुणस्तर कायम राख्न प्राविधिक सिफारिस अनिवार्य गर्ने निर्णय गरेको हो।
तर व्यापारीहरूले भने अहिले बजारमा जुम्लाको स्याउको माग र मूल्य राम्रो रहेकाले बिक्रीका लागि बाहिर पठाउन दिनुपर्ने माग गरेका छन्। स्याउ केही दिन रोकिँदा कुहिने तथा आफूहरूले आर्थिक क्षति व्यहोर्नुपर्ने उनीहरूको भनाइ छ।
कृषि विकास कार्यालयले भने व्यापारीको मागभन्दा स्याउको गुणस्तर र बजारमा जुम्लाको उत्पादनको विश्वसनीयता महत्वपूर्ण भएकाले प्राविधिक मापदण्ड पूरा गरेर मात्रै निर्यात गर्न आग्रह गरेको छ।
कृषि शाखा प्रमुख अधिकारीले स्याउ राम्ररी पाकिसकेपछि सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकबाट परीक्षण तथा सिफारिस लिएर सहज रूपमा बाहिरी बजारमा लैजान सकिने बताए। उनका अनुसार प्राविधिक परीक्षणपछि गुणस्तर पुगेका स्याउलाई रोकिराख्ने नीति कार्यालयको नरहेको स्पष्ट पारे।
जुम्लाको स्याउ मुख्यतः सुर्खेत, नेपालगञ्जलगायत पश्चिम नेपालका बजारमा जाने गरेको छ। उत्पादन बजारमा पठाउने समयमै स्याउको गुणस्तरलाई लिएर विवाद भएपछि यस वर्ष व्यापारी र कृषि प्राविधिकबीच समन्वयको आवश्यकता थप देखिएको छ।
















