२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

रसुवामा बाढीपछि उद्धारदेखि जोखिम न्यूनीकरणसम्म सशस्त्र प्रहरीको व्यापक परिचालन

 


रसुवा, भदौ–१० गते। रसुवामा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य सेवा र सम्भावित थप जोखिम न्यूनीकरणका लागि ठूलो संख्यामा जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको छ। बाढीका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि हराइरहेका व्यक्तिको खोजी, सडक खुलाउने, स्वास्थ्य सेवा र राहत सामग्री पुर्‍याउने कामलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा गम्भीर घाइतेको तत्काल उद्धार तथा प्राथमिक उपचारका लागि Mass Casualty Vehicles सहितको चिकित्सा तथा उद्धार टोली परिचालन गरिएको छ। प्रभावितको थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा आवश्यक बेडसमेत खाली राखिएको सशस्त्र प्रहरीले जनाएको छ। सम्भावित विपद्का लागि नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई समेत उच्च सतर्कतामा राखिएको छ।

नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै सशस्त्र प्रहरीले गाडी र गस्ती टोलीमार्फत साइरन बजाउने तथा माइकिङ गर्ने काम गरिरहेको छ। नुवाकोटको विदुरमा अस्थायी हेल्थ क्याम्प स्थापना गरी सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।

आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका Disaster Relief System (DRS) कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउन थालिएको छ। देशका अन्य भागमा रहेका DRS कन्टेनरलाई समेत बाढी प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बाढीका कारण नदी किनारका बस्ती, मुख्य सडक तथा कोरिडोरमा खसेका पहिरो हटाएर उद्धार र अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम पनि तीव्र पारिएको छ। थुनिएका वा हराइरहेका नागरिकको खोजी तथा बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन ड्रोन परिचालन गरिएको छ।

रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढीले पुरिएका व्यक्तिको खोजीका लागि K9 Sniffer Dogs सहितको खोज तथा उद्धार टोलीसमेत परिचालन गरिएको छ। उद्धार कार्यलाई सहज बनाउन प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड (Landing Zones) तयार पार्ने काम भइरहेको छ, जसबाट नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप हिमताल विस्फोट (GLOF) वा बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर सम्पर्क र सूचना आदानप्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

बाढीका कारण विस्थापित नागरिक बसेका शिविरमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न नदिन आपत्कालीन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्नसमेत सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ। सशस्त्र प्रहरीले तत्कालीन उद्धार तथा राहतसँगै सम्भावित थप विपद् रोकथाम र जोखिम न्यूनीकरणलाई समान प्राथमिकतामा राखेर प्रभावित क्षेत्रमा विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।