२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

राप्तीसोनारीमा शैक्षिक उत्प्रेरणा कार्यक्रम सुरु


राप्तीसोनारी, असोज ५   राप्तीसोनारी गाउँपालिकामा विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले शैक्षिक उत्प्रेरणा कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसँगै शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत पहिलो दिन सांगीतिक पीटी, प्रार्थना व्यवस्थापन तथा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाका अनुसार कार्यक्रम पहिलो चरणमा वडा नम्बर ६, २ र ३ मा सञ्चालन हुँदैछ । असोज ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रम एउटा वडामा दुई दिनका दरले सञ्चालन गरिनेछ । पहिलो दिन विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीलाई सहभागी गराइएको छ भने दोस्रो दिन सम्पूर्ण अभिभावकलाई समेत सहभागी गराएर थप बृहत् कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रमले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै शिक्षकलाई शिक्षणप्रति थप जिम्मेवार र उत्प्रेरित बनाउने तथा अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षामा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्य राखिएको छ । गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत (आठौँ) मोहन विसीका अनुसार विद्यार्थीको सिकाइ सुधारका लागि विद्यालयभित्रको प्रयास मात्र पर्याप्त नहुने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध बलियो बनाउन कार्यक्रम आयोजना गरिएको हो ।

‘शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक तीनवटै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । यी तीन पक्षले आ–आफ्नो भूमिका सशक्तरूपमा निर्वाह गर्न सके मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ,’ विसीले भने, ‘कार्यक्रमले एकअर्काको भूमिका बुझ्ने, जिम्मेवारी महसुस गर्ने र सिक्दै–सिकाउँदै अघि बढ्ने वातावरण निर्माण गर्ने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार कार्यक्रम केवल विद्यार्थीलाई लक्षित गरेर नभई शिक्षक र अभिभावकलाई समेत शैक्षिक प्रक्रियाको अभिन्न पक्षका रूपमा सहभागी गराउने गरी सञ्चालन गरिएको हो । विद्यार्थीको सिकाइमा घर र विद्यालय दुवैको वातावरणले प्रभाव पार्ने भएकाले अभिभावकको सक्रिय सहभागितालाई पनि कार्यक्रमले प्राथमिकता दिएको उनले बताए ।

कार्यक्रममा ‘सिक्दै सिकाउँदै राष्ट्रिय अभियान’का अभियन्ताहरूले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण दिनेछन् । सिकाइलाई व्यवहारसँग जोड्ने, सकारात्मक सोचको विकास गर्ने तथा विद्यार्थीमा आत्मविश्वास बढाउने विषयमा कार्यक्रम केन्द्रित रहने गाउँपालिकाले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाका तीन वडाबाट सुरु गरिएको कार्यक्रम क्रमशः अन्य वडामा समेत विस्तार गरिने तयारी छ । गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत करिब पाँच हजार विद्यार्थी, अभिभावक तथा शिक्षकसहितको सहभागिता हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केवल परीक्षा र नतिजामा सीमित नगरी विद्यार्थीको समग्र व्यक्तित्व विकाससँग जोड्न खोजेको जनाएको छ । त्यसका लागि विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकाससँगै शिक्षकको शिक्षण क्षमता तथा अभिभावकको शैक्षिक जिम्मेवारीलाई पनि समानरूपमा अघि बढाउने उद्देश्य कार्यक्रमले लिएको छ । विसीका अनुसार विद्यार्थीलाई विद्यालय पठाउने मात्र नभई उनीहरूको सिकाइ, व्यवहार र भविष्य निर्माणमा अभिभावकको निरन्तर साथ आवश्यक हुन्छ । ‘विद्यालयले सिकाउने र घरले त्यसलाई निरन्तरता दिने वातावरण बन्नुपर्छ । विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षक र अभिभावकबीच सहकार्य बलियो बनाउन सके शैक्षिक सुधार दिगो बन्न सक्छ,’ उनले बताए । कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकले साङ्गीतिक पीटी र प्रार्थनाबाट दिनको सुरुवात गरेका थिए । त्यसपछि उत्प्रेरणात्मक सत्र सञ्चालन गरिएको थियो । आगामी दिनमा अभिभावकको सहभागितामा हुने कार्यक्रमले विद्यालय र घरबीचको सम्बन्धलाई थप नजिक ल्याउने गाउँपालिकाको अपेक्षा छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।