२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

दसैंका मूर्ति बनाउन भ्याइनभ्याई, सीमामा कडाइले बिक्री प्रभावित


बर्दिया — दसैं नजिकिएसँगै बर्दियाका मूर्तिकारलाई दुर्गा भगवतीका मूर्ति बनाउन भ्याइनभ्याई भएको छ। घटस्थापनाका दिन मन्दिर, टोल तथा चोकमा स्थापना गरिने मूर्ति तयार गर्न उनीहरू तीन महिनाअघिदेखि नै दिनरात खटिरहेका छन्। तर, मूर्ति निर्माणको काम बढे पनि भारततर्फ बिक्रीका लागि लैजान सीमामा कडाइ भएपछि स्थानीय मूर्तिकार भने चिन्तित छन्।

गुलरिया नगरपालिका–७ गुलरिया गाउँका ४३ वर्षीय मूर्तिकार मितलेशकुमार यादव यस वर्ष दसैंका लागि ३७ सेट मूर्ति तयार गर्दै छन्। २१ वर्षदेखि मूर्ति बनाउँदै आएका यादवले घटस्थापनाका लागि आवश्यक मूर्ति समयमै तयार गर्न निरन्तर काम गरिरहेको बताए।

‘दसैंका लागि मूर्ति तयार गर्न तीन महिनाअघिदेखि निरन्तर काम गरिरहेको छु,’ उनले भने, ‘मूर्ति बनाउन आवश्यक सामग्री यहाँ सहजै नपाइने भएकाले भारतका ठूला सहरबाट ल्याउनुपर्ने बाध्यता छ।’

यादवले मूर्ति बनाउने कला गुलरियाका प्रसिद्ध मूर्तिकार स्वर्गीय मुरलीप्रसाद गोडियासँगै भारतमा गएर सिकेका हुन्। लामो समयदेखि यही पेशामा आबद्ध उनले अहिलेसम्म धेरैलाई मूर्ति निर्माणको सीपसमेत सिकाइसकेका छन्।

बर्दियामा दसैंका लागि दुर्गा भगवतीका मूर्ति बनाउने चलन पुरानै हो। घटस्थापनाका दिन विभिन्न स्थानमा मूर्ति स्थापना गरी श्रद्धालुले पूजा गर्ने र विजयादशमीका दिन विसर्जन गर्ने परम्परा छ। यसका कारण दसैं नजिकिँदा मूर्तिकारलाई मागअनुसार मूर्ति तयार गर्न चटारो हुने गरेको छ।

यादवका अनुसार मूर्ति निर्माणबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्लो समय बजार विस्तारमा समस्या देखिएको छ। विशेषगरी भारततर्फ मूर्ति बिक्रीका लागि लैजान सीमामा कडाइ गरिएपछि व्यवसाय प्रभावित भएको उनको भनाइ छ।

‘पहिला भारतमा सहजै मूर्ति बिक्री हुन्थ्यो,’ उनले भने, ‘तर पछिल्लो समय सीमामा कडाइका नाममा मूर्तिसमेत लैजान दिइएको छैन। दसैंका लागि तयार गरिएका मूर्तिको सम्पूर्ण जिम्मा लिँदासमेत लैजान नदिँदा हामी निरुत्साहित भएका छौं।’

भारतसँग सीमा जोडिएको बर्दियाका मूर्तिकारले विगतमा सीमापारिका बजारमा समेत मूर्ति बिक्री गर्दै आएका थिए। भारततर्फबाट आउने मागले स्थानीय मूर्तिकारलाई थप मूर्ति बनाउन प्रोत्साहन मिल्ने गरेको थियो। तर, सीमामा हुने कडाइका कारण बजार खुम्चिँदै गएको उनीहरूको गुनासो छ।

मूर्ति बनाउन माटो, पराल, बाँस, कपडा, रङ तथा अन्य सामग्री आवश्यक पर्छ। स्थानीयस्तरमा सबै सामग्री सहज रूपमा उपलब्ध नहुँदा कतिपय सामग्री भारतका विभिन्न सहरबाट ल्याउनुपर्ने अवस्था रहेको यादवले बताए।

दसैंका लागि अहिले तयार भइरहेका अधिकांश मूर्ति दुर्गा भगवतीसहित विभिन्न देवीदेवताका हुन्छन्। मूर्तिकारले ग्राहकको मागअनुसार आकार, डिजाइन र रंगरोगन गर्दै आएका छन्। घटस्थापना नजिकिँदै जाँदा तयार भएका मूर्ति सम्बन्धित स्थानमा लैजाने क्रमसमेत सुरु हुने गरेको छ।

मूर्ति निर्माणलाई व्यावसायिक बनाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीको स्रोत बढाउन सकिने भए पनि बजार र कच्चा पदार्थको समस्या समाधान गर्नुपर्ने मूर्तिकारहरूको भनाइ छ। सीमापार बिक्रीमा देखिएको अवरोध हटाउन सके बर्दियाका मूर्तिकारको परम्परागत सीपले थप बजार पाउने उनीहरूको अपेक्षा छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।