२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

राप्तीसोनारी वडा नम्बर ६ र ७ मा मात्रै बाढीको उच्च जोखिममा १ हजार १२२ घरधुरी

बाढी आउनुअघि जोखिममा रहेका घरधुरीको पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षा निकायको तयारी र राहत सामग्रीको पूर्वभण्डारणलाई एकीकृत रूपमा अघि बढाएमा विपद्को समयमा हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ । गाउँपालिकाले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।


राप्तीसोनारी, असोज २३  राप्तीसोनारी गाउँपालिकाले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका १ हजार १२२ घरधुरीको पहिचान गरी विस्तृत लगत तयार गरेको छ । पश्चिम राप्ती नदी तथा चुरे क्षेत्रबाट बग्ने खोला र नदीका कारण विशेषगरी गाउँपालिकाका वडा नं. ६ र ७ का तटीय बस्तीमा बाढीको जोखिम बढी रहेकाले सम्भावित विपद् व्यवस्थापनका लागि घरधुरीको नाम, ठेगाना र सम्पर्क नम्बर संकलन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार वडा नं. ६ का ४९६ र वडा नं. ७ का ६२६ गरी १ हजार १२२ घरधुरी बाढीको उच्च जोखिममा रहेका छन् । उनका अनुसार बाढी आउनुअघि नै जोखिममा रहेका परिवारको पहिचान गरी आवश्यक परेका बेला तत्काल सम्पर्क र उद्धार गर्न सकिने गरी लगत तयार गरिएको हो । गाउँपालिकाले तयार गरेको विवरणमा जोखिममा रहेका घरधुरीका प्रमुखको नाम, बस्ती, सडक तथा सम्पर्क नम्बरसमेत समावेश गरिएको छ । अध्यक्ष पौडेलले राप्ती सोनारीको भौगोलिक अवस्था र पश्चिम राप्ती नदीका कारण वर्षायाममा बाढीको जोखिम बढ्ने बताए । चुरेबाट बग्ने साना–ठूला खोलासमेत वर्षायाममा उर्लिने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्ने गरेको उनको भनाइ छ ।

‘नागरिकको जीउज्यानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो,’ अध्यक्ष पौडेलले भने, ‘बाढी आउनुपूर्व नै वडा नं. ६ र ७ का उच्च जोखिममा रहेका घरधुरीको विस्तृत विवरण र फोन नम्बर सहितको लगत पहिचान गरिसकेका छौँ ।’ गाउँपालिकाले बाढीको पूर्वसूचना प्रणालीलाई चौबीसै घण्टा चुस्त राख्ने तयारी गरेको छ । नदीमा पानीको सतह बढ्न थालेपछि जोखिममा रहेका बस्तीलाई तत्काल सूचना दिने र आवश्यकता अनुसार सुरक्षित स्थानमा सार्ने योजना बनाइएको अध्यक्ष पौडेलले बताए । पूर्वसूचनालाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई प्राथमिकता दिइएको छ ।
राप्ती सोनारीका विभिन्न बस्तीमा विगतदेखि नै वर्षायाममा बाढी तथा डुबानको समस्या देखिँदै आएको छ । पश्चिम राप्ती नदीको जलस्तर बढ्दा नदी तटीय क्षेत्रमा रहेका बस्ती प्रभावित हुने गरेका छन् । चुरे क्षेत्रबाट आउने खोलामा एक्कासि पानीको बहाव बढ्दा नदी आसपासका बस्तीका साथै सडक र ग्रामीण क्षेत्रमा समेत आवागमन प्रभावित हुने गरेको छ । यसपटक सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रेडक्रस तथा पालिकाको विपद् व्यवस्थापन समितिलाई उच्च सतर्क अवस्थामा राख्ने व्यवस्था मिलाएको अध्यक्ष पौडेलले बताए । बाढीको अवस्था गम्भीर भएमा सुरक्षा निकाय र स्थानीय स्वयंसेवकको समन्वयमा उद्धार तथा राहत परिचालन गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाले प्रभावित क्षेत्रका नागरिकलाई राख्न सकिने सुरक्षित स्थानको पहिचानसँगै आकस्मिक उद्धारका लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ । बाढी प्रभावित परिवारका लागि खाद्यान्न तथा औषधिलगायतका अत्यावश्यक सामग्री पूर्वभण्डारण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । यसबाट बाढी आएपछि मात्रै राहत सामग्री जुटाउनुपर्ने अवस्था कम गर्ने गाउँपालिकाको तयारी छ । जोखिममा रहेका घरधुरीको विवरण तयार भएपछि बाढीको समयमा कुन बस्तीमा कति परिवार प्रभावित हुन सक्छन् भन्ने प्रारम्भिक अनुमान गर्नसमेत सहज हुने गाउँपालिकाको अपेक्षा छ । घरधुरीको सम्पर्क नम्बरसमेत संकलन गरिएकाले पूर्वसूचना प्रवाह, उद्धारका लागि सम्पर्क र आपत्कालीन अवस्थामा परिवारको अवस्थाबारे जानकारी लिन सहज हुने देखिएको छ ।

गाउँपालिकाले नदी तथा खोला आसपासका बस्तीका नागरिकलाई वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदीको जलस्तर बढेको अवस्थामा नदी किनारतर्फ नजान, बालबालिका तथा वृद्धवृद्धालाई सुरक्षित स्थानमा राख्न र बाढीको जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । अध्यक्ष पौडेलले पालिकाले जारी गर्ने पूर्वसूचना तथा आपत्कालीन जानकारीलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । ‘नदी तटीय क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘पालिकाले जारी गर्ने सूचनालाई नियमित रूपमा ध्यान दिन र जोखिमको अवस्था आएमा सुरक्षित स्थानमा जान आग्रह गर्दछौँ ।’

राप्ती सोनारी गाउँपालिकाको बाढी जोखिमसम्बन्धी लगतमा वडा नं. ६ र ७ का विभिन्न बस्ती समेटिएका छन् । उपलब्ध विवरणमा वडा नं. ६ का गुलरी, दादा तेपरी, पानेरिया, सिधानवा, ढलैया, हबरहवा, खल्ला तेपरी, गोरेनपुर, मेहमानपुरलगायतका बस्ती देखिन्छन् । वडा नं. ७ तर्फ लालपुर, निबुवाटार, सर्री, भेलुनिया, बिसम्भरपुर, पिप्रहवा, पहाडीपुर, सोनपुर, देउपुरा, गेडवा, बसन्तपुर र फत्तेपुरलगायतका बस्तीको विवरण समावेश छ । बाढी आउनुअघि जोखिममा रहेका घरधुरीको पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षा निकायको तयारी र राहत सामग्रीको पूर्वभण्डारणलाई एकीकृत रूपमा अघि बढाएमा विपद्को समयमा हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ । गाउँपालिकाले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।