२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

राप्तीसोनारी वडा नम्बर ८ एक वर्षमा १२ योजना सम्पन्न, ४८७ नागरिक सामाजिक सुरक्षा लाभग्राही

एक वर्षमा सम्पन्न सडक, स्वास्थ्य, खानेपानी, खेलकुद तथा प्रशासनिक सेवाका कामले वडाको सेवा प्रवाह र विकासको आधार थप बलियो बनाएको देखिन्छ । अब सम्पन्न योजनाको गुणस्तर र दिगोपना कायम गर्दै बाँकी आवश्यकता पूरा गर्नु वडा कार्यालयका लागि अर्को महत्वपूर्ण चुनौती बनेको छ ।


राप्तीसोनारी, असोज २५ ।  वर्षौंसम्म सामान्य सडक, स्वास्थ्य सेवा र आधारभूत पूर्वाधारको अभाव झेल्दै आएका राप्तीसोनारी गाउँपालिका–८ का नागरिकका लागि आर्थिक वर्ष २०८२/८३ उपलब्धिमूलक बनेको छ । वडा कार्यालयले एकै वर्षमा सडक निर्माण तथा स्तरोन्नतिदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन, खानेपानी व्यवस्थापन, बजार सौन्दर्यीकरण, खेलकुद र खुला व्यायामशालासम्मका १२ वटा वडा स्तरीय आयोजना तथा कार्यक्रम सम्पन्न गरेको छ । यससँगै वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा र सामाजिक सुरक्षा व्यवस्थापनलाई समेत व्यवस्थित बनाइएको छ ।

वडा कार्यालयले सार्वजनिक गरेको वार्षिक समीक्षा विवरणअनुसार विकास निर्माणतर्फ सबैभन्दा बढी प्राथमिकता सडक र स्वास्थ्य क्षेत्रलाई दिइएको छ । नमुनागाउँ जाने बाटोमा कल्भर्ट निर्माण तथा ग्राभेलिङ, नयाँगाउँ होमस्टे जाने बाटोमा पि सि सि, धर्मोतिमा पक्की नाली, विभिन्न स्थानमा सडक स्तरोन्नति तथा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणलगायतका काम सम्पन्न भएका छन् । नमुनागाउँ जाने बाटोमा कल्भर्ट निर्माण र ग्राभेलिङका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको थियो । नयाँगाउँ होमस्टे जाने बाटोमा चार लाख रुपैयाँको लागतमा ४२ मिटर पिसिस गरिएको छ । त्यसैगरी नयाँ गाउँ होमस्टे जाने बाटो थप ६४० मिटर स्तरोन्नति गरिएको वडा कार्यालयले जनाएको छ ।

धर्मोतिमा पाँच लाख रुपैयाँको लागतमा १६० मिटर पक्की नाली निर्माण गरिएको छ । यसले वर्षात्का समयमा पानी निकासमा देखिने समस्या कम गर्न सहयोग पुग्ने वडा कार्यालयको अपेक्षा छ । वडा अध्यक्ष सालिकराम डाँगीले वडाको विकासलाई नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोडेर अघि बढाइएको बताएका छन् । सडक, स्वास्थ्य, खानेपानी, शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर योजनाहरू कार्यान्वयन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि स्थानीय आवश्यकताका आधारमा विकास निर्माणलाई निरन्तरता दिने बताएका छन् । ‘वडामा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने हाम्रो प्राथमिकता हो । उपलब्ध बजेटलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरेर आधारभूत पूर्वाधार तथा सेवाको पहुँच विस्तार गर्ने प्रयास गरेका छौँ,’ उनको भनाइ छ ।

वडाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । गाउँपालिकासँगको साझेदारीमा निर्माण भएको स्वास्थ्य केन्द्रबाट प्रयोगशालासहितको सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य संस्थामै ल्याब सेवा उपलब्ध भएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने स्थानीयको बाध्यता कम भएको वडा कार्यालयले जनाएको छ । वडामा रहेको बर्थिङ सेन्टरबाट आर्थिक वर्षमा ६२ जना सुत्केरीले सेवा लिएका छन् । गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध हुन थालेपछि स्थानीय महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न सहज भएको वडा कार्यालयको समीक्षा विवरणमा उल्लेख छ ।

वडा सचिव लालबहादुर बुढाका अनुसार विकास निर्माणसँगै नागरिकलाई आवश्यक प्रशासनिक सेवा छिटो र व्यवस्थित रूपमा उपलब्ध गराउने कामलाई पनि प्राथमिकता दिइएको छ । वडा कार्यालयबाट एक वर्षको अवधिमा तीन हजार एक वटा पत्र चलानी भएका छन् भने २८५ वटा पत्र दर्ता भएका छन् । नागरिकता सिफारिस मात्रै २१२ वटा गरिएको छ । ‘वडाबाट प्रवाह हुने सेवामा नागरिकलाई सहजता दिने र कार्यालयका कामलाई व्यवस्थित बनाउने गरी सेवा प्रवाह गरिरहेका छौँ,’ बुढाले बताए । व्यक्तिगत घटना दर्तालाई समेत डिजिटल प्रणालीमा व्यवस्थित गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा ३०० जन्मदर्ता, ३३ मृत्युदर्ता, ४१ जोडीको विवाहदर्ता र नौ वटा सम्बन्धविच्छेद दर्ता भएका छन् । बसाइँसराइअन्तर्गत २१ घरपरिवार वडामा आएका छन् भने नौ घरपरिवार अन्यत्र गएका छन् ।

सामाजिक सुरक्षा सेवातर्फ पनि वडामा ठूलो संख्यामा नागरिक लाभान्वित भइरहेका छन् । वडा कार्यालयको विवरणअनुसार विभिन्न शीर्षकमा गरी ४८७ जना सामाजिक सुरक्षा लाभग्राही रहेका छन् । त्यसमध्ये अन्य ज्येष्ठ नागरिक भत्ता पाउने २३७, दलित ज्येष्ठ नागरिक २२, ज्येष्ठ नागरिक एकल महिला ४२, विधवा ९४, पूर्ण अपाङ्गता भएका ११, अति अशक्त ५३ र दलित बालबालिका २८ जना रहेका छन् । शिक्षा, खेलकुद र युवा लक्षित कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको छ । शिवशक्ति माध्यमिक विद्यालयमा खानेपानी व्यवस्थापनका लागि पाइपलाइन जडान गरिएको छ । विद्यालयस्तरमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ भने युवा तथा खेलकुद सञ्चालनका लागि छुट्टै बजेट परिचालन गरिएको छ । योगाहल व्यवस्थापनका लागि कुर्सी तथा अन्य सामग्री खरिद गरिएको छ ।

स्वास्थ्य सभाहल फिल्डमा खुला व्यायामशाला अर्थात् जिमखाना व्यवस्थापन गरिएको छ । यसले युवासँगै स्थानीय नागरिकलाई शारीरिक व्यायामका लागि सार्वजनिक स्थान उपलब्ध गराएको छ । वडाले खेलकुद र शारीरिक स्वास्थ्यलाई जोडेर यस्ता पूर्वाधार निर्माणलाई अघि बढाएको जनाएको छ । बजार क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले परुवा खोला–सिक्टा नहर चोकदेखि शिवशक्ति माध्यमिक विद्यालयसम्म बजार सौन्दर्यीकरणको काम गरिएको छ । उक्त क्षेत्रमा १३५ वटा ट्रिगार्डसहित बिरुवा रोपिएको वडा कार्यालयले जनाएको छ । वडाले धार्मिक तथा सामुदायिक संरचनामा समेत लगानी गरेको छ । जनशक्ति माध्यमिक विद्यालयमा सरस्वतीको मूर्ति निर्माण गरिएको छ । कालीमाटी मन्दिरमा मञ्च तथा व्यवस्थापनको कामसँगै शौचालय निर्माण गरिएको छ । ओभरी तारादेवी टोलमा शिव मन्दिरको पूजा गर्ने हुमकुण्ड निर्माण गरिएको छ । यी कामहरू बजेट संशोधनमार्फत थप कार्यक्रमका रूपमा कार्यान्वयन गरिएको वडा कार्यालयले जनाएको छ ।

राजस्व संकलनतर्फ पनि वडा कार्यालयले आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल ११ लाख ८९७ रुपैयाँ ४७ पैसा संकलन गरेको छ । भूमिकर तथा मालपोत, बहाल कर, अन्य कर, न्यायिक दस्तुर, प्रशासनिक सेवा शुल्क, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता तथा नाता प्रमाणितलगायतका शीर्षकबाट उक्त राजस्व संकलन भएको हो । बहाल करतर्फ मात्रै चार लाख ५७ हजार ७६८ रुपैयाँ सात पैसा संकलन भएको छ । राप्तीसोनारी–८ गाउँपालिकाको कार्यालयबाट करिब २२ किलोमिटर पश्चिममा रहेको वडा हो । नयाँगाउँ, बालापुर, ओभरी, पेरानी, खल्लागाउँ र धर्मोती यहाँका मुख्य बस्ती हुन् । वडाको पूर्व तथा दक्षिणमा वडा नं. २, पश्चिममा चगाइ नाला र उत्तरमा सल्यान जिल्ला रहेको छ ।

वडामा विभिन्न टोल विकास संस्थामार्फत समुदायको सहभागिता पनि कायम गरिएको छ । नयाँगाउँदेखि बालापुर, ओभरी, पेरानी र धर्मोतीसम्म १४ वटा टोल विकास संस्था रहेको वडा कार्यालयको विवरणमा उल्लेख छ । सामुदायिक वनतर्फ जलन्धारा, पुष्पाञ्जली, त्रिशक्ति, जनशक्ति, शिवशक्ति मध्यवर्ती, तारादेवी मध्यवर्ती, भगवती, घण्टेश्वरी र वनदेवीलगायतका सामुदायिक वन रहेका छन् ।
वडा अध्यक्ष डाँगीका अनुसार पछिल्लो एक वर्षमा आधारभूत आवश्यकता सम्बोधन गर्ने प्रयास गरिएको छ । ‘विकासका कामलाई निरन्तरता दिँदै अब सम्पन्न भएका संरचनाको संरक्षण र प्रभावकारी उपयोगमा पनि ध्यान दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘आगामी दिनमा नागरिकको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर बाँकी पूर्वाधार तथा सेवा विस्तारका काम अघि बढाइनेछ ।’ एक वर्षमा सम्पन्न सडक, स्वास्थ्य, खानेपानी, खेलकुद तथा प्रशासनिक सेवाका कामले वडाको सेवा प्रवाह र विकासको आधार थप बलियो बनाएको देखिन्छ । अब सम्पन्न योजनाको गुणस्तर र दिगोपना कायम गर्दै बाँकी आवश्यकता पूरा गर्नु वडा कार्यालयका लागि अर्को महत्वपूर्ण चुनौती बनेको छ ।

सम्पन्न योजनाहरु :
१. नमुनागाउँ जाने बाटोमा कल्भर्ट निर्माण र ग्राभेलिङ
२. नयाँगाउँ होमस्टे जाने बाटो पि सि सि
३. शिवशक्ति मा वि मा खानेपानी व्यवस्थापन
४. आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण (पालिकासंग साझेदारीमा)
५. धर्मोतिमा पक्की नाली निर्माण
६. बजार सौन्दर्यीकरण (परुवा खोला– सिक्टा नहर चोक देखि शिव शक्ति मा वि सम्म)
७. योगाहल व्यवस्थापन (कुर्सी तथा अन्य सामग्री खरिद)
८. वडा अध्यक्ष कप (विद्यालय स्तर) खेलकुद प्रतियोगिता
९. युवा तथा खेलकुद संचालन खर्च
१०. नयाँ गाउँ होमस्टे जाने बाटो स्तरोन्नती
११. खुला व्यायामशाला (जिमखाना) व्यवस्थापन

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।