२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

बगरभरि सखरखण्डै सखरखण्ड

नेपालगन्ज र कोहलपुरका व्यवसायीले खेतमै आएर किनेर लैजाने गरेका छन् । स्थानीय सखरखण्डको माग बढ्दै गएकोले खेती पनि बिस्तार गर्दै जाने किसानहरु बताउँछन् ।

 

नेपालगन्ज, पुस १८  केही वर्ष पहिलेसम्म सुख्खा र बाँझो रहँदै आएको बाँके डुडुवा गाउँपालिकास्थित सिधनियाघाटको राप्ती नदीले कटान गरेको नदी छेउको बगर क्षेत्र अहिले हरियालीमा परिणत भएको छ । नदीको बगरमा स्थानीय बासिन्दाले सखरखण्ड, तरबुजा, करेला र अन्य तरकारी फलाउन थालेपछि सो क्षेत्र हरियालीमा परिणत भएको हो ।

राप्ती नदीको बगरमा यति बेला बालुवामा फलाइएको सखरखण्ड (गन्जी) खन्न र बिक्री गर्न किसानलाई भ्याइनभ्याइ छ । लगानी कम र आम्दानी धेरै हुन थालेपछि हाल आएर नदीको बगरमा सखरखण्डको खेती गर्नेहरु बढेका छन् । सोही क्रममा राप्ती सोनारी गाउँपालिका ६ डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्डको खेती गरेका छन् ।

उनले सुरुमा केही समस्या भए पनि अहिले सो खेतीबाट निकै राम्रो आम्दानी भइरहेको जनाउँदै यस वर्ष हालसम्म ६५ कुइन्टल सखरखण्ड झिकेर बिक्री गरिसकेको बताए । राप्तीको बगरमा उत्पादन भएको सखरखण्डको स्वाद भारतबाट आउने भन्दा राम्रो भएकोले माग अत्यधिक रहेको जनाउँदै उनले अझै झिक्ने कार्य जारी रहेको जनाए ।

४५ हजारको लगानीमा लगाएको सो सखरखण्डमध्ये हालसम्म फत्तेसिंहले तीन लाख रुपैयाँभन्दा बढीको उत्पादन गरेका छन् । अझै उनको खेतमा करिब २० क्विन्टल सखरखण्ड रहेको अनुमान छ । हाल सखरखण्ड प्रतिकिलो ६० रुपैयाँका दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा ८० देखि १०० रुपियाँ किलोसम्ममा बिक्री भइरहेको छ ।

बगरमा सखरखण्डको खेती गर्नेहरुमा राप्ती सोनारी ६ डाँडाटपरीका अर्का स्थानीय नन्कु मल्लाह पनि हुन । उनले १५ कठ्ठा जग्गा भाडामा लिएर सखरखण्डको खेती गरेर करिब ४० क्विन्टल उत्पादन भएको बताए । सोही प्रकारले डुडुवा गाउँपालिका ५ सिधनियाका दशरथ गोडियाले पनि करिब १५ कठ्ठामा सखरखण्डको खेती गरेर ३५ क्विन्टल उत्पादन गरेको जनाउँदै अर्को वर्ष ३० कठका खेती गर्ने योजना बनाएको सुनाए । उनीहरुले उत्पादान गरेको सखरखण्ड विक्रीमा कुनै पनि समस्या छैन । नेपालगन्ज र कोहलपुरका व्यवसायीले खेतमै आएर किनेर लैजाने गरेका छन् । स्थानीय सखरखण्डको माग बढ्दै गएकोले खेती पनि बिस्तार गर्दै जाने किसानहरु बताउँछन् ।

सिधनियाघाटस्थित राप्ती नदीको बगरमा उत्पादन भएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायतका ठाउँमा समेत बिक्रीका लागि लैजाने गरिएको व्यवसायीले बताएका छन् । राप्ती नदीको बगरमा अहिले सिजन अनुसार सखरखण्ड, तरबुजा, करेला र काँक्रो उत्पादन गर्ने गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।