नेपालगन्ज, फागुन ४ बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा अभियान औपचारिकरूपमा सुरु गरिएको छ । मतदाता सचेतना अभिवृद्धि गर्ने र बदर मत न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाँके ले जनाएको छ ।जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाका आठवटै स्थानीय तहबाट एक/एकजना अधिकृत तहका कर्मचारीलाई तालिम प्रदान गरिएको छ । तालिमप्राप्त अधिकृतहरूले आआफ्ना पालिकामा स्वयम्सेवकहरूलाई प्रशिक्षण दिएका छन् ।
आइतबारदेखि जिल्लाभर औपचारिकरूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेका ८१ वटै वडामा एक/एकजना स्वयम्सेवक परिचालन गरिएको छ । जिल्लामा रहेका स्थानीय तहअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका मा २३ वडा, कोहलपुर नगरपालिका मा १५ वडा, राप्तीसोनारी गाउँपालिका मा ९ वडा, नरैनापुर गाउँपालिका मा ६ वडा, डुडुवा गाउँपालिका मा ६ वडा, जानकी गाउँपालिका मा ६ वडा, बैजनाथ गाउँपालिका मा ८ वडा र खजुरा गाउँपालिका मा ८ वडा रहेका छन् ।
कार्यालयका अनुसार स्वयंसेवकहरूले गाउँबस्तीमा पुगेर नमूना मतपत्रमार्फत सही तरिकाले मत संकेत गर्ने अभ्यास गराउने छन् । मतदानका दिन आवश्यक कागजात के–के लैजानुपर्छ, मतपत्रमा हुने सामान्य त्रुटि कसरी सच्याउने, र मत खेर नजाने गरी कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी दिइनेछ । ‘यस कार्यक्रमको मुख्य उद्देश्य बदर मत घटाउने नै हो,’ जिल्ला निर्वाचन अधिकारी शाहीले बताए ।
बाँकेमा तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल मतदाताको संख्या तीन लाख ५० हजार ३७१ रहेको छ । १३९ मतदान केन्द्र र ४०० मतदान स्थल निर्धारण गरिएका छन् । साथै, हालसम्म दुई हजार ३३८ जना अस्थायी मतदाता दर्ता भइसकेका छन् ।
पछिल्ला निर्वाचनहरूमा बदर मतको संख्या उल्लेख्य देखिएपछि यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन मतदाता शिक्षा महत्वपूर्ण आधार मानिन्छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी गराएर सहभागिता वृद्धि गर्नुका साथै मतको वैधता सुनिश्चित गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा स्वयंसेवकहरू घरदैलो तथा सामुदायिक भेला मार्फत मतदातासम्म पुग्नेछन् । जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई सचेत, जिम्मेवार र सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।











