२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नाै लाख, अरु नेता कसको कति ?

काठमाडौँ, फागुन २९ गते  प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता कायम गर्न आयोगले तोकेको आचारसंहिता र कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले धमाधम विवरण पेस गर्न थालेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत विवरण सार्वजनिक गरिरहेका छन् ।

उम्मेदवारको खर्च विवरण

बालेन्द्र साह (बालेन): राष्ट्रिय स्वतन्त्र पार्टीका नेता साहले झापा निर्वाचन क्षेत्र नं. ५ को खर्च विवरणअनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । जसमा सवारी साधन भाडा र इन्धनमा २ लाख ९३ हजार ८ सय, वडास्तरीय प्रचारमा ५ लाख ८० हजार र प्रचार सामग्रीमा १ लाख ५७ हजार ४१ रुपैयाँ खर्च भएको छ ।

स्वर्णिम वाग्ले: तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद वाग्लेले २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ । उहाँको सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपैयाँ भएको देखिएको छ ।

रवि लामिछाने: रास्वपा सभापति लामिछानेले चितवन–२ को निर्वाचन खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ भएको विवरण पेस गर्नुभएको छ । उहाँको खर्चमा यातायात तथा इन्धनमा २ लाख ९५ हजार र खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ समावेश छ।

सोविता गौतम: चितवन क्षेत्र नं. ३ की उम्मेदवार गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ।

महावीर पुन: म्याग्दी क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । उहाँको खर्चमध्ये होटलमा खाना र बस्नका लागि मात्र १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ ।

सूर्य थापा: प्युठान–१ का एमाले नेता थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ ।

शंकर पोखरेल: एमाले महासचिव पोखरेलले दाङ–२ को खर्च विवरणमा सवारी साधन, इन्धन, र गोष्ठी/अन्तरक्रिया लगायतका शीर्षकमा १६ लाख ५० हजार खर्च भएको उल्लेख गर्नुभएको छ ।

कमल थापा: राप्रपा नेता कमल थापाले काठमाडौँ–५ बाट चुनाव लड्दा २३ लाख १० हजार रुपैयाँ खर्च भएको विवरण पेस गर्नुभएको छ । उहाँको एक भोटका लागि औसत एक हजार रुपैयाँभन्दा बढी खर्च भएको देखिएको छ ।

निर्वाचन आयोगले खर्च विवरण प्राप्त भएपछि त्यसको अध्ययन र प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । अन्य उम्मेदवारले पनि सम्बन्धित निर्वाचन कार्यालयमा विवरण बुझाउने क्रम जारी रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।