नेपालगन्ज, चैत ११ देशभरका प्रारम्भिक चरणका उद्यमीलाई व्यवसाय सञ्चालन र लगानी आकर्षणका व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले अमेरिकी दूतावासले सोमबार नेपालगन्जमा राष्ट्रिय उद्यमशीलता सीप निर्माण कार्यक्रमको सुरुवात गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले यस पहल अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा सञ्चालन गर्दै आएको छ । प्रारम्भिक चरणमा कार्यक्रम लुम्बिनी प्रदेशबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा जारी रहनेछ । सातै प्रदेशमा करिब २०० उद्यमी प्रत्यक्ष कार्यशाला, गोष्ठी र भर्चुअल बुटक्याम्पमा सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रशिक्षण सत्रहरूले व्यवसायका आधारभूत पक्ष, बजार पुष्टि, लगानीकर्तासँग सञ्चार, डिजिटल मार्केटिङ, निर्यात तयारी लगायतका विषयमा विशेष ध्यान दिनेछन् । सहभागी उद्यमीले यसबाट नवीन सोचलाई व्यावसायिक अवसरमा परिणत गर्ने, दीर्घकालीन आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान दिने व्यवहार्य कम्पनी निर्माणका सीप सिक्नेछन् । नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘आर्थिक वृद्धि र नवप्रवर्तनमा उद्यमीहरूको भूमिका अपरिहार्य छ । यस कार्यक्रमले नेपाली संस्थापकहरूलाई व्यवसाय विस्तारमा सहयोग गर्ने मात्र होइन, अमेरिका–नेपालबीच व्यापार र वाणिज्य सहकार्यका नयाँ अवसर पनि सिर्जना गर्नेछ ।’
कार्यक्रम अमेरिकी नेपाल वाणिज्य कूटनीति शृंखलाको हिस्सा हो, जसले उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको विकास प्रवर्धन गरी दुई देशबीचको आर्थिक सम्बन्ध मजबुत बनाउने उद्देश्य राखेको छ । यसअन्तर्गत उद्यमीहरूलाई सल्लाहकार, लगानीकर्ता र उद्योग विशेषज्ञसँग जोड्दै व्यवसाय मोडेल परिष्कृत गर्ने, वृद्धि र अमेरिकी फर्मसँग साझेदारीका लागि तयार गर्ने अवसर उपलब्ध गराइनेछ ।
यस पहललाई अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीद्वारा अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा कार्यान्वयन गरिएको छ । यसले नेपालको नवप्रवर्तन वातावरणलाई थप मजबुत बनाउन र अमेरिका–नेपाल आर्थिक सहकार्यलाई प्रवर्धन गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।













