सुर्खेत । सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेपछि डोल्पाकी २६ वर्षीया महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ।
छार्काताङसोङ गाउँपालिका–कागकोटकी जुनु बुढालाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको हो।
सुत्केरी व्यथा लागेपछि बुढालाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्याइएको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
सोमबारदेखि नै गम्भीर अवस्थामा रहेकी बुढालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको हो।


















