राप्तीसोनारी गाउँपालिकाद्वारा सडक र स्वास्थ्य चौकी निर्माणका चार ठूला ठेक्का स्वीकृत, साढे दुई करोड बढीको योजना अघि बढ्दै ।
राप्तीसोनारी, कात्तिक १७। राप्तीसोनारी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यका साथ विभिन्न चारवटा महŒवपूर्ण विकास योजनाहरूको ठेक्का सम्झौता प्रक्रिया अगाडि बढाएको छ । गाउँ कार्यपालिकाको कार्यालय, अगैयाले सार्वजनिक खरिद ऐन, २०६३ को कानुनी परिधिभित्र रहेर चालु आर्थिक वर्ष २०८३/०८४ का लागि प्राप्त बोलपत्रहरूमध्ये प्राविधिक र आर्थिकरूपमा उपयुक्त कम्पनीहरूलाई छनोट गर्दै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो ।
गाउँपालिकाले सडक सञ्जाल विस्तार, स्वास्थ्य क्षेत्रको भौतिक सुधार तथा प्रशासनिक पूर्वाधार सुदृढीकरणका लागि कुल दुई करोड एकासी लाख चौरानब्बे हजार तीन सय उनसन्तरी रुपैयाँ बराबरको बजेटसहित ठेक्का स्वीकृतिको अन्तिम चरण पूरा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार वडा नम्बर १ मा पर्ने बर्धापुर प्रतिक्षालयदेखि झोलुङ्गे पुलसम्म जाने बाटो निर्माणको काम सबैभन्दा ठूलो योजनाको रूपमा रहेको छ, जसका लागि सौरभ कन्स्ट्रक्सन, राप्तीसोनारी–०९ लाई एक करोड चौँतीस लाख बाइस हजार आठ सय बीस रुपैयाँमा छनोट गरिएको छ । यसैगरी, वडा नम्बर ३ मा यातायात सहजताका लागि महत्वपूर्ण मानिएको भवानियापुरदेखि नारायणपुरसम्म जोड्ने सडक निर्माणको जिम्मेवारी त्रियानब्बे लाख छयासी हजार तीन सय चौध रुपैयाँमा कोहलपुरको जय गणेश निर्माण सेवाले प्राप्त गरेको छ ।
भौतिक पूर्वाधारसँगै स्वास्थ्य सेवातर्फ वडा नम्बर ९ मा रहेको महादेवा स्वास्थ्य चौकीको भवनमा तला थप गर्ने कार्यका लागि अठ्ठाइस लाख छ हजार एक सय तियासी रुपैयाँमा युदिप्स निर्माण सेवा, कोहलपुर छनोट भएको छ । सोही निर्माण सेवाले गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय भित्रको विभिन्न मर्मत तथा आन्तरिक निर्माण कार्यका लागि पनि पच्चिस लाख उनन्तरी हजार पचास रुपैयाँ बराबरको अर्को ठेक्का प्राप्त गर्न सफल भएको छ ।

यस विषयमा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाको समग्र विकासका लागि यी योजनाहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । अध्यक्ष पौडेलले भने, ‘हामी राप्तीसोनारीवासीको जीवनस्तर सुधार र सहजताका लागि पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । बर्धापुरदेखि झोलुङ्गे पुल जाने सडक र भवानियापुर–नारायणपुर सडकले स्थानीय उत्पादनलाई बजारसम्म जोड्न ठूलो मद्दत गर्नेछ । स्वास्थ्य क्षेत्र हाम्रो अर्को संवेदनशील प्राथमिकता हो, जसका कारण महादेवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्न लागिएको हो ।’
अध्यक्ष पौडेलले निर्माण कार्यको गुणस्तर र समयसीमामा कुनै सम्झौता नगरिने स्पष्ट पारे । उनले थपे, ‘ठेक्का प्रक्रिया पारदर्शी र ऐन सम्मत ढंगले अगाडि बढाइएको छ । अब छनोट भएका निर्माण व्यवसायीहरूले सम्झौता हुनासाथ तोकिएको समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्नुपर्नेछ । पालिकाले यसको नियमित अनुगमन र सहजीकरण गर्नेछ । विकासका काममा स्थानीय नागरिकको पनि रचनात्मक निगरानी आवश्यक रहन्छ ।’
गाउँपालिकाका अनुसार गत असोज ८ गते प्रकाशित बोलपत्र आह्वान सम्बन्धी सूचनाको आधारमा देशैभरका निर्माण व्यवसायीहरूले प्रतिस्पर्धा गरेका थिए । पेश हुन आएका बोलपत्रहरूमध्ये न्यूनतम मूल्याङ्कन गरिएको र सारभूतरूपमा प्रभावग्राही देखिएका कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ र दफा ४७ को प्रयोजनार्थ छनोट गरिएको पालिकाले सूचनामार्फत स्पष्ट पारेको छ । यो सूचना प्रकाशित भएको सात दिनभित्र प्राविधिक र प्रक्रियागत रूपमा कसैको उजुरी वा दाबी विरोध नआएमा निर्माण कम्पनीहरूसँग औपचारिक सम्झौता गरी फिल्डमा काम सुरु गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

















