सुर्खेत, वैशाख ५ कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन रणनीति अघि सारेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगामी १० वर्षका लागि पर्यटन विकासको विस्तृत गुरुयोजना तयार गर्दै कर्णालीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने तयारी गरेको हो ।
सरकारले तयार पारेको गुरुयोजनामा कर्णालीका सम्भावित पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै ती स्थानमा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । दुर्गम भौगोलिक अवस्था र पहुँचको समस्याका कारण पछि परेको कर्णालीमा अब योजनाबद्ध ढंगले पर्यटन विस्तार गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ । पर्यटकलाई सहज सूचना उपलब्ध गराउन ‘गन्तव्य कर्णाली’ नामक मोबाइल एप सञ्चालनमा ल्याइएको छ । उक्त एपमार्फत होटल, यात्रा मार्ग, दूरी, शुल्कलगायतका विस्तृत विवरण उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई यात्रा योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले सन् २०३० सम्ममा वार्षिक १५ लाख आन्तरिक र दुई लाख विदेशी पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ । हाल कर्णाली आउने पर्यटकको औसत बसाइ अवधि करिब चार दिन मात्रै रहेकोमा त्यसलाई बढाएर १० देखि २१ दिनसम्म पुर्याउने योजना पनि अघि सारिएको छ । यस लक्ष्य हासिल गर्न हवाई पहुँच विस्तारलाई प्रमुख आधार मानिएको छ । सुर्खेतबाट सिधै हिमाली जिल्लासम्म उडान जोड्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । यसले दुर्गम जिल्लामा पर्यटक आगमन बढाउने विश्वास लिइएको छ । तर, कर्णालीमा पर्यटन विकासको सम्भावना प्रशस्त हुँदाहुँदै पनि चुनौतीहरू कायमै छन् । विशेषगरी पर्यटकलाई आकर्षित गरेर दोहोर्याएर फर्काउने विषयमा कमजोरी देखिएको सरोकारवालाहरूले बताएका छन् ।
सुर्खेतमा आयोजित कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत ‘घुमिफिरी कर्णाली’ शीर्षकको सत्रमा वक्ताहरूले कर्णाली प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध भए पनि आतिथ्य सेवामा सुधार आवश्यक रहेको धारणा राखे । उनीहरूका अनुसार पहिलो पटक आउने पर्यटक प्रभावित भए पनि सेवा–सुविधा र व्यवहारमा कमजोरी हुँदा पुनः भ्रमण गर्ने दर न्यून रहेको छ । यस सन्दर्भमा गुरुयोजनाले केवल पूर्वाधार निर्माणमा मात्रै होइन, सेवा गुणस्तर, आतिथ्य संस्कार र स्थानीय सहभागितालाई समेत सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ । कर्णालीलाई दिगो र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरकारी योजना कार्यान्वयनसँगै व्यवहारिक सुधार अपरिहार्य देखिएको छ ।





















