कोहलपुर, वैशाख २५ कोहलपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न गरिएको छ । नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि १५ सम्मका किसानहरूको माटोको अवस्था बुझ्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा कुल १२५ वटा माटोका नमुना संकलन गरी परीक्षण गरिएको हो ।
कृषि विकास शाखाका अनुसार शिविरमार्फत संकलन गरिएका माटोका नमुनाहरूको परीक्षणपछि माटोको अम्लीयता, क्षारीयता, पोषक तत्वको अवस्था तथा उर्वरता सम्बन्धी विवरण किसानलाई उपलब्ध गराइनेछ । यसले खेतीपातीमा उचित मलखादको प्रयोग, उत्पादन वृद्धि तथा माटोको दीर्घकालीन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको कृषि विकास शाखाकी प्रमुख कल्पना नेपालीले बताइन् ।
उनका अनुसार शिविरमा वडावडाबाट आएका किसानहरूको सक्रिय सहभागिता रहेको थियो । प्राविधिकहरूले किसानहरूलाई माटो परीक्षणको महत्व, वैज्ञानिक खेती प्रणाली र सन्तुलित मल प्रयोगबारे समेत जानकारी गराएका थिए ।
नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्राविधिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै कृषकलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने योजना रहेको जनाएको छ । कृषि विकास शाखाले माटो परीक्षणका आधारमा स्थानीय तहमा उपयुक्त बाली सिफारिससमेत गर्ने जनाएको छ ।















