२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

राप्तिसोनारिमा बस्ती जोड्दै सडक

गाउँपालिकाका विभिन्न वडामा कार्यान्वयन गरिएका सडक तथा नाली निर्माणका कामले विशेषगरी वर्षायाममा हुने समस्या न्यूनीकरण गरेका छन् । यसअघि वर्षा हुँदा हिलाम्मे हुने र आवतजावतमा कठिनाइ हुने सडक अहिले सहज र सुरक्षित भएका छन् । विद्यालय जाने विद्यार्थी, बिरामी बोक्ने एम्बुलेन्स तथा दैनिक आवागमन गर्ने सर्वसाधारण सबैलाई यसको प्रत्यक्ष लाभ पुगेको स्थानीयले बताएका छन् ।


राप्तीसोनारी: राप्तीसोनारी गाउँपालिकामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिस्प)अन्तर्गत छनोट गरिएका विभिन्न विकास योजना चालु आर्थिक वर्षमै सम्पन्न भएका छन् । पालिका र लिस्पको साझेदारीमा सडक स्तरोन्नति, पक्की नाली निर्माण, विद्यालयसम्म पहुँच मार्ग सुधार तथा सिँचाइँ संरचना विकास जस्ता योजना पूरा भएका हुन् । गाउँपालिकाका विभिन्न वडामा कार्यान्वयन गरिएका सडक तथा नाली निर्माणका कामले विशेषगरी वर्षायाममा हुने समस्या न्यूनीकरण गरेका छन् । यसअघि वर्षा हुँदा हिलाम्मे हुने र आवतजावतमा कठिनाइ हुने सडक अहिले सहज र सुरक्षित भएका छन् ।

विद्यालय जाने विद्यार्थी, बिरामी बोक्ने एम्बुलेन्स तथा दैनिक आवागमन गर्ने सर्वसाधारण सबैलाई यसको प्रत्यक्ष लाभ पुगेको स्थानीयले बताएका छन् । राप्तीसोनारी–६ का स्थानीय बासिन्दा रामबहादुर थारूले सडक र नाली निर्माणपछि आफ्नो दैनिकीमा आएको परिवर्तन सुनाए । उनले भने, ‘पहिले पानी पर्दा हिँड्नै गाह्रो हुन्थ्यो, बच्चालाई विद्यालय पठाउन पनि समस्या थियो । अहिले सडक राम्रो बनेको छ, नाली बनेपछि पानी जम्दैन, धेरै सजिलो भएको छ ।’ त्यस्तै, वडा नम्बर ३ की गीता चौधरीले पनि विद्यालयसम्मको सडक सुधारले ठूलो राहत मिलेको बताइन् । ‘पहिले बच्चाहरू हिलोमा लडेर घर फर्कन्थे, अहिले सजिलै जान्छन् । अभिभावकका लागि पनि ढुक्क हुने अवस्था बनेको छ,’ उनले भनिन् ।

सम्पन्न भएका योजनाले कृषि क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेका छन् । साना सिँचाइ संरचना निर्माण तथा मर्मत भएपछि खेतमा पानी पुर्‍याउन सहज भएको कृषकले बताएका छन् । यसले उत्पादन वृद्धि हुनुका साथै कृषिमा लागत घटाउन मद्दत पुगेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले चालु आर्थिक वर्षमै योजनाहरू सम्पन्न हुनु उपलब्धिमूलक भएको बताए । उनले भने, ‘हामीले जनताको आवश्यकताअनुसार छनोट गरेका योजनाहरू समयमै सम्पन्न भएका छन्, जसको प्रत्यक्ष लाभ नागरिकले अनुभव गरिरहेका छन् । यो हाम्रो लागि ठूलो उपलब्धि हो ।’ अध्यक्ष पौडेलका अनुसार योजनाहरूले ग्रामीण भेगमा पहुँच, सेवा र अवसर विस्तारमा महŒवपूर्ण योगदान पुर्‍याएका छन् ।

उनले थपे, ‘सडक र नालीजस्ता आधारभूत पूर्वाधार विकासले दीर्घकालीनरूपमा आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याउँछ । अब किसानले आफ्नो उत्पादन बजारसम्म सजिलै पुर्‍याउन सक्छन्, विद्यार्थीहरू नियमित रूपमा विद्यालय जान सक्छन् र स्वास्थ्य सेवा पनि सहज रूपमा लिन सकिन्छ ।’ अध्यक्ष पौडेलले आगामी दिनमा पनि यस्तै परिणाममुखी योजनाहरू अघि बढाइने बताए । प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले योजनाहरू समयमै सम्पन्न हुनुमा प्रभावकारी व्यवस्थापन, अनुगमन र समन्वयको भूमिका महŒवपूर्ण रहेको बताए । ‘हामीले सुरुबाटै स्पष्ट कार्यतालिका बनाएर काम अघि बढायौं,’ उनले भने, ‘नियमित अनुगमन, प्राविधिक सुपरिवेक्षण र उपभोक्ता समितिसँगको समन्वयका कारण काम निर्धारित समयमै सम्पन्न गर्न सफल भयौं ।’ उनले गुणस्तरमा कुनै सम्झौता नगरी काम गरिएको दाबी गरे ।

खरालका अनुसार पारदर्शिता कायम राख्न खर्च विवरण र प्रगति जानकारी नियमितरूपमा सार्वजनिक गरिएको थियो । ‘यसले नागरिकको विश्वास जित्न मद्दत गरेको छ,’ उनले भने, ‘आगामी योजनाहरूमा पनि यही अभ्यासलाई निरन्तरता दिनेछौं ।’ उनले स्थानीय जनशक्तिको प्रयोगले लागत घटाउन र कामप्रति अपनत्व बढाउन सहयोग पुगेको पनि उल्लेख गरे । गाउँपालिकाले ठूला र साना दुवै खाले योजनाहरू सन्तुलितरूपमा कार्यान्वयन गरेको जनाएको छ । केही स्थानमा सडक कालोपत्रे, कतै पीसीसी ढलान, कतै नाली निर्माण र कतै सिँचाइ संरचना निर्माण गरिएको छ । यसले समग्ररूपमा पूर्वाधार विकासलाई गति दिएको छ ।

सम्पन्न भएका योजनाहरूको प्रभाव दीर्घकालीन हुने विश्वास गरिएको छ । यातायात पहुँच सहज भएपछि स्थानीय बजार चलायमान हुने, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढ्ने तथा कृषिमा उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले पनि विकासको प्रत्यक्ष अनुभूति गर्न थालेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।