काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डले नेपालसामु २४४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।
स्कटल्यान्डका लागि जर्ज मुन्से र फिन्ले म्याक्रेथले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। आक्रामक ब्याटिङ गरेका मुन्सेले ७५ रन बनाए भने म्याक्रेथ ३५ रनमा आउट भए। दुवैलाई सन्दीप लामिछानेले २१औं ओभरमा लगातार झट्का दिएका थिए।
सन्दीपको धारिलो बलिङपछि मजबुत अवस्थामा रहेको स्कटल्यान्ड दबाबमा परेको थियो। ११४ रनमा पहिलो विकेट गुमाएको स्कटल्यान्डले थप १४ रन जोड्दा चार विकेट गुमायो। सुरुवाती चारै विकेट सन्दीपले लिँदै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए। उनले आफ्नो १० ओभरको स्पेलमा एक मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए।
मध्यक्रममा मार्क वाटले केही आक्रामक ब्याटिङ गर्दै २४ रन बनाए पनि करण केसीको बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए। म्याथ्यु क्रस पनि १८ रनमा करणकै सिकार बने। अन्त्यतिर माइकल इंग्लिसले अविजित ३४ रन जोड्दै स्कटल्यान्डलाई सम्मानजनक योगफलतर्फ पुर्याए। माइकल लिस्क २९ रनमा नन्दन यादवको बलमा बोल्ड भए भने इनिङ्सको अन्तिम बलमा ज्याक जार्भिस डक आउट भए।

नेपालका लागि सन्दीपले ४ विकेट लिए भने करण केसी र नन्दन यादवले समान २–२ विकेट झारे। नेपालले स्कटल्यान्डविरुद्ध कुल सात जना बलर प्रयोग गरेको थियो।
लिग–२ अन्तर्गत जारी सिरिजमा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ। नेपाल भने २४ खेलबाट १८ अंकसहित सातौं स्थानमा रहेको छ। जारी सिरिजका बाँकी चार खेलमध्ये दुई खेल जित्न सके नेपालले तालिकामा कम्तीमा दुई स्थान सुधार गर्ने सम्भावना रहेको छ।














