नेपालगन्ज, वैशाख ३१ नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मा डा. नवीन दर्नाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को वैशाख १७ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अस्पतालको प्रशासनिक नेतृत्वमा खटाएको हो ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दर्नालले बुधबारदेखि औपचारिक रूपमा अस्पतालको जिम्मेवारी सम्हाल्ने भएका छन् । हालै ११औँ तहमा बढुवा भएका उनले लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट नेपाल स्वास्थ्य सेवा, जनस्वास्थ्य प्रशासन समूहअन्तर्गत प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नाम निकालेर नयाँ जिम्मेवारी प्राप्त गरेका हुन् । यसअघि बागमती प्रदेशअन्तर्गत रहेको टोखा चण्डेश्वरी अस्पतालको नेतृत्व सम्हालिरहेका डा. दर्नालले प्युठान अस्पताल र भीम अस्पतालमा समेत काम गरिसकेका छन् । स्वास्थ्य प्रशासन र अस्पताल व्यवस्थापनमा अनुभव बटुलेका उनी लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्ला, सन्धिखर्क–७ निवासी हुन् ।
भेरी अस्पतालका तत्कालीन मेसु डा. निराजन सुवेदीको काज फिर्ता भएपछि मन्त्रालयले नयाँ नेतृत्वका रूपमा डा. दर्नाललाई पठाएको हो । प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सुवेदीको दरबन्दी काठमाडौंस्थित वीर अस्पताल मा रहेको छ । उनलाई मन्त्रालयले काजमा भेरी अस्पताल पठाएको थियो । डा. सुवेदीले करिब १९ महिनासम्म भेरी अस्पतालको प्रशासनिक नेतृत्व सम्हालेका थिए । उनले २०८१ असोज ९ गतेदेखि मेसुको जिम्मेवारी लिएका थिए । उनको कार्यकालमा अस्पतालमा सेवा विस्तार, व्यवस्थापन सुधार र उपचार सेवामा सहजता ल्याउने प्रयास भएको भन्दै अस्पतालभित्र सकारात्मक मूल्यांकन हुने गरेको चिकित्सकहरू बताउँछन् ।
अस्पताल स्रोतका अनुसार पछिल्लो समय बिरामीको चाप बढ्दै गएको अवस्थामा नयाँ नेतृत्वले सेवा व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार र प्रशासनिक सुधारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।















