२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता–अध्यक्ष पौडेल

राप्तीसोनारीलाई आत्मनिर्भर, समृद्ध र सन्तुलित विकासतर्फ अघि बढाउने विश्वास छ । कृषि आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवद्र्धन र सुशासन सुदृढीकरणले राप्तीसोनारीलाई पश्चिम नेपालकै नमुना गाउँपालिकाका रूपमा स्थापित गर्न सकिनेछ ।


राप्तीसोनारी: राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि सारेको बताएका छन् । अध्यक्ष पौडेलले राप्तीसोनारीलाई आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध स्थानीय तहका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित योजना तयार गरिएको स्पष्ट पारे । उनका अनुसार अबको विकास मोडेल परम्परागत नभई प्रविधिमैत्री, तथ्यमा आधारित र उत्पादनमुखी हुनेछ ।

कृषि आधुनिकीकरणमा जोडः आर्थिक विकासको मूल आधार
अध्यक्ष पौडेलले राप्तीसोनारीको आर्थिक मेरुदण्ड कृषि क्षेत्र भएको उल्लेख गर्दै यसलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न गाउँपालिकाले विशेष योजना अघि सारेको बताए । कृषि उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोग, माटो परीक्षण, जैविक मल उत्पादन, सिँचाइ विस्तार र पकेट क्षेत्र विकासलाई प्राथमिकतामा राखिएको छ । उनका अनुसार कृषि उत्पादनलाई बजारसँग जोड्न ‘एक वडा एक उत्पादन’ कार्यक्रम प्रभावकारी रूपमा लागू गरिनेछ । यस कार्यक्रममार्फत प्रत्येक वडामा सम्भावनायुक्त कृषि उत्पादन पहिचान गरी उत्पादन, प्रशोधन र बजारीकरणसम्मको श्रृंखला विकास गरिनेछ ।

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न ‘कृषिमा युवा अभियान’ सञ्चालन गरिनेछ । कृषि क्षेत्रमा नवीन सोच, प्रविधि र उद्यमशीलता विकास गर्दै युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको अध्यक्ष पौडेलले बताए । साथै, कृषि क्षेत्रमा महिला, दलित, मुस्लिम, मधेशी, विपन्न तथा सीमान्तकृत समुदायलाई प्राथमिकता दिइने नीति लिइएको छ । यसले सामाजिक न्यायसहितको आर्थिक विकासलाई सन्तुलित बनाउने विश्वास व्यक्त गरिएको छ ।

पशुपालन र सहकारीमार्फत ग्रामीण अर्थतन्त्र सुदृढीकरण
कृषिसँगै पशुपालनलाई पनि आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाइने अध्यक्ष पौडेलले बताए । बाख्रा, कुखुरा तथा दुग्ध उत्पादनलाई व्यवसायिक बनाउन पकेट क्षेत्र विस्तार गरिनेछ । गाउँपालिकाले पशु सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा नं. ४ मा भेटेरीनरी अस्पताल तथा प्रयोगशाला स्थापना गर्ने योजना अघि सारेको छ । यसले पशु रोग नियन्त्रण, उपचार तथा अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना, पशु स्रोत केन्द्र विकास, उन्नत गोठ निर्माण र नश्ल सुधार कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । सहकारी संस्थाहरूलाई उत्पादनदेखि बजारीकरणसम्मको श्रृंखलामा सक्रिय बनाइने नीति लिइएको छ ।

पर्यटन प्रवद्र्धनः स्थानीय अर्थतन्त्रको नयाँ सम्भावना
राप्तीसोनारीलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पनि गाउँपालिकाले लिएको छ । अध्यक्ष पौडेलका अनुसार गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई व्यवस्थित रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरिनेछ । गाईलेक, खर्सेताल, भुवर भवानी मन्दिर, बाबा बर्फानी मन्दिर, ढकेरी वनस्पति उद्यान तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । राप्ती नदीमा र्‍याफ्टिङ तथा बोटिङ सेवा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । यसले स्थानीय रोजगारी सिर्जना, व्यवसाय विस्तार र बाह्य पर्यटक आकर्षणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । होमस्टे, होटल तथा रिसोर्ट सञ्चालनका लागि निजी क्षेत्रलाई आकर्षित गरिनेछ । ‘घुमौं, नाचौं राप्तीसोनारी’ अभियानमार्फत गाउँपालिकाको पर्यटन ब्रान्डिङ गर्ने योजना रहेको अध्यक्ष पौडेलले बताए ।

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार अभियान
शिक्षालाई विकासको आधारशिला मान्दै गाउँपालिकाले गुणस्तरीय, प्रविधिमैत्री र समावेशी शिक्षा प्रणाली विकास गर्ने नीति लिएको छ । सामुदायिक विद्यालयहरूको सुधार, शिक्षक व्यवस्थापन, विद्यालय मर्ज प्रक्रिया, क्ष्ऋत् आधारित शिक्षण, ई–लाइब्रेरी स्थापना तथा डिजिटल कक्षा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ । विद्यालयमा गणित प्रयोगशाला, एक विद्यालय एक बगैचा, छात्रवृत्ति विस्तार तथा प्राविधिक शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । दलित, विपन्न, अपांग तथा सीमान्तकृत समुदायका विद्यार्थीका लागि विशेष छात्रवृत्ति व्यवस्था गरिनेछ । साथै :द्यद्यक् तथा उच्च प्राविधिक शिक्षाका लागि समेत छात्रवृत्ति कार्यक्रम विस्तार गरिने योजना रहेको छ । शिक्षकको क्षमता विकास, नियमित अनुगमन, कार्यसम्पादन मूल्यांकन र प्रोत्साहन प्रणालीमार्फत शैक्षिक गुणस्तर सुधार गरिनेछ ।

स्वास्थ्य सेवामा पहुँच विस्तार र गुणस्तर सुधार
गाउँपालिकाले स्वास्थ्य सेवालाई जनताको आधारभूत अधिकारका रूपमा स्थापित गर्ने नीति लिएको छ । अध्यक्ष पौडेलका अनुसार आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गरिनेछ । गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिइनेछ । प्रसूति सेवा सुधार, आकस्मिक प्रसूति सेवा कोष स्थापना, ल्याब सेवा विस्तार र स्वास्थ्य उपकरणको सुदृढीकरण गरिनेछ । राप्तीसोनारी आधारभूत अस्पताललाई स्तरोन्नति गर्दै जटिल प्रसूति सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । मानसिक स्वास्थ्य सेवा, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, घुम्ती स्वास्थ्य सेवा तथा घरदैलो स्वास्थ्य सेवा विस्तार गरिनेछ । महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सुदृढ गर्दै स्वास्थ्य सेवा ग्रामीण बस्तीमा पुर्‍याउने नीति लिइएको छ ।

पूर्वाधार विकासः दीगो र वातावरणमैत्री संरचना
पूर्वाधार विकासलाई दीगो, सुरक्षित र वातावरणमैत्री बनाउने नीति गाउँपालिकाले लिएको छ । सडक, पुल, सिंचाइ, खानेपानी र सार्वजनिक भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ । सडक निर्माणमा बायोइन्जिनियरिङ प्रविधिको प्रयोग, वृक्षारोपण, सोलार बत्ती विस्तार र सडक गुरुयोजना कार्यान्वयन गरिनेछ । ठेकेदारको कार्यसम्पादनमा कडाइ गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गराउने नीति लिइएको छ । साथै, सार्वजनिक भवन निर्माणमा अनिवार्य नक्सा पास, भवन आचारसंहिता पालन र विपद् जोखिम न्यूनीकरणलाई ध्यान दिइनेछ ।

महिला, बालबालिका र सामाजिक समावेशीकरण
महिला सशक्तिकरण, लैंगिक समानता र सामाजिक न्यायलाई नीति तथा कार्यक्रमको महत्वपूर्ण अंग बनाइएको छ । महिला नेतृत्व विकास, हिंसा विरुद्ध अभियान, स्वरोजगार तालिम, कानुनी साक्षरता र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ । दलित, मुस्लिम, मधेशी, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा विपन्न समुदायलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । बालश्रममुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य पनि अघि सारिएको छ । बालमैत्री स्थानीय शासन लागू गर्दै बालबालिकाको अधिकार सुनिश्चित गरिनेछ ।

सुशासन र डिजिटल शासन प्रणाली
गाउँपालिकाले सुशासनलाई सुदृढ गर्न डिजिटल प्रणाली विस्तार गर्ने नीति लिएको छ । सार्वजनिक सुनुवाइ, नागरिक सन्तुष्टि सर्वेक्षण, ई–हाजिरी प्रणाली, अनलाइन सेवा र डिजिटल अभिलेख प्रणाली लागू गरिनेछ । मेलमिलाप केन्द्र स्थापना, न्यायिक समितिको सुदृढीकरण र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिइएको छ । राजस्व प्रणाली सुदृढीकरण, अनुगमन प्रणाली प्रभावकारी बनाउने र बेरुजु नियन्त्रण कार्यक्रमलाई तीव्रता दिइनेछ ।

विपद् व्यवस्थापन र वातावरण संरक्षण
वन, वातावरण तथा विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । वृक्षारोपण, नदी कटान नियन्त्रण, डढेलो नियन्त्रण र जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछ । विपद् व्यवस्थापनका लागि वडास्तरीय योजना, आपतकालीन सामग्री भण्डारण र उद्धार प्रणाली सुदृढ गरिनेछ । वन संरक्षण, सामुदायिक वन सुदृढीकरण र जैविक विविधता संरक्षणमा विशेष ध्यान दिइनेछ ।

निष्कर्षः समृद्ध राप्तीसोनारीको आधारशिला
अध्यक्ष तप्तबहादुर पौडेलले प्रस्तुत नीति तथा कार्यक्रमले राप्तीसोनारीलाई आत्मनिर्भर, समृद्ध र सन्तुलित विकासतर्फ अघि बढाउने विश्वास व्यक्त गरे । उनका अनुसार कृषि आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवद्र्धन र सुशासन सुदृढीकरणको समन्वित कार्यान्वयनले राप्तीसोनारीलाई पश्चिम नेपालकै नमूना गाउँपालिकाका रूपमा स्थापित गर्न सकिनेछ । उनले नीति तथा कार्यक्रम सफल बनाउन सबै जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकको सहकार्य अपरिहार्य रहेको पनि बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।