२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

समृद्ध राप्तीसोनारी निर्माण हाम्रो उद्देश्य हो

राप्तीसोनारीः राप्तीसोनारी गाउँपालिकाले कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई प्राथमिकतामा राखेको छ । कृषि उत्पादन वृद्धि, ‘एक वडा–एक उत्पादन’ अभियान, युवा लक्षित कृषि कार्यक्रम, सडक तथा सिँचाइ पूर्वाधार विस्तार, डिजिटल सेवा प्रणाली र सामाजिक समावेशीकरणका योजनालाई विशेष महत्व दिइएको छ । गाउँपालिकाले राप्तीसोनारीलाई आत्मनिर्भर, प्रविधिमैत्री र समृद्ध स्थानीय तहका रूपमा विकास गर्ने लक्ष्यसहित नीति अघि सारेको जनाएको छ । यही विषयमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलसँग हाइवे पोष्टले गरेको संक्षिप्त कुराकानी ।


कृषि क्षेत्रलाई कसरी आधुनिकीकरण गरिनेछ ?
कृषि क्षेत्रमा हामीले धेरै ठोस कार्यक्रम अघि सारेका छौं । माटो परीक्षण, डिजिटल सॉइल म्यापिङ, जैविक मल उत्पादन, उन्नत बीउको प्रयोग र सिँचाइ विस्तारलाई प्राथमिकतामा राखेका छौं । ‘एक वडा एक उत्पादन’ कार्यक्रम लागू गरेर प्रत्येक वडाको विशेष उत्पादन पहिचान गरी बजारसँग जोड्ने योजना छ । यसले स्थानीय उत्पादनलाई व्यावसायिक बनाउनेछ । त्यस्तै, युवालाई कृषिमा आकर्षित गर्न ‘कृषिमा युवा अभियान’ सञ्चालन गरिनेछ । आधुनिक कृषि प्रविधि र उद्यमशीलता विकास गरेर युवालाई स्वरोजगार बनाउन चाहन्छौं ।

पशुपालन क्षेत्रमा के–कस्ता योजना छन् ?
पशुपालनलाई पनि हामीले अर्थतन्त्रको महत्वपूर्ण आधार मानेका छौं । बाख्रा, कुखुरा र दुग्ध उत्पादनलाई व्यवसायिक बनाउने नीति छ । पकेट क्षेत्र विस्तार, पशु स्रोत केन्द्र स्थापना र उन्नत गोठ निर्माणलाई प्राथमिकता दिइएको छ । वडा नं. ४ मा भेटेरीनरी अस्पताल तथा प्रयोगशाला स्थापना गर्ने योजना छ, जसले पशु स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउनेछ । दुग्ध संकलन तथा प्रशोधन केन्द्र पनि स्थापना गर्ने तयारी छ ।

पूर्वाधार विकासमा के परिवर्तन आउँछ ?
पूर्वाधार विकास हाम्रो दोस्रो ठूलो प्राथमिकता हो । सडक, पुल, सिँचाइ, खानेपानी र सार्वजनिक भवन निर्माणलाई दीगो र गुणस्तरीय बनाइनेछ । हामीले बायोइन्जिनियरिङ प्रविधिको प्रयोग गर्नेछौं, जसले सडकलाई सुरक्षित र वातावरणमैत्री बनाउनेछ । सडक किनारमा वृक्षारोपण, सोलार बत्ती विस्तार र सडक गुरुयोजना कार्यान्वयन हाम्रो योजना हो । ठेकेदारको जिम्मेवारी र गुणस्तरमा पनि कडाइ गरिनेछ ।

शिक्षा क्षेत्रमा सुधारका योजना के छन् ?
शिक्षा हाम्रो दीर्घकालीन विकासको आधार हो । सामुदायिक विद्यालय सुधार, शिक्षक व्यवस्थापन, विद्यालय मर्ज, क्ष्ऋत् आधारित शिक्षण र ई–लाइब्रेरी स्थापना गरिनेछ । हामीले गणित प्रयोगशाला, एक विद्यालय एक बगैचा, छात्रवृत्ति कार्यक्रम र प्राविधिक शिक्षा विस्तारमा जोड दिएका छौं । विपन्न, दलित, अपांगता भएका विद्यार्थीका लागि विशेष छात्रवृत्ति व्यवस्था हुनेछ । शिक्षकको क्षमता विकास, नियमित अनुगमन र कार्यसम्पादन मूल्यांकनलाई प्रभावकारी बनाइनेछ ।

स्वास्थ्य सेवामा के सुधार ल्याइनेछ ?
स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउने हाम्रो लक्ष्य हो । गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा निरन्तर रहनेछ । प्रसूति सेवा सुधार, आकस्मिक प्रसूति सेवा कोष स्थापना र ल्याब सेवा विस्तार गरिनेछ । राप्तीसोनारी आधारभूत अस्पताललाई स्तरोन्नति गर्दै जटिल प्रसूति सेवा सञ्चालन गर्ने योजना छ । घुम्ती स्वास्थ्य सेवा र मानसिक स्वास्थ्य सेवा पनि विस्तार गरिनेछ ।

पर्यटन विकासलाई कसरी अघि बढाइनेछ ?
राप्तीसोनारीमा पर्यटनको ठूलो सम्भावना छ । गाईलेक, खर्सेताल, ढकेरी वनस्पति उद्यान, धार्मिक स्थल र बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । राप्ती नदीमा र्‍याफ्टिङ तथा बोटिङ सेवा सुरु गर्ने योजना छ । होमस्टे, होटल र रिसोर्ट प्रवद्र्धनका लागि निजी क्षेत्रलाई आकर्षित गरिनेछ । ‘घुमौं, नाचौं राप्तीसोनारी’ अभियानमार्फत गाउँपालिकाको पर्यटन ब्रान्डिङ गर्ने लक्ष्य छ ।

महिला, बालबालिका र समावेशी विकासमा के नीति छ ?
महिला सशक्तिकरण हाम्रो प्रमुख एजेन्डा हो । महिला नेतृत्व विकास, उद्यमशीलता तालिम, कानुनी साक्षरता र हिंसा विरुद्ध अभियान सञ्चालन गरिनेछ । दलित, मुस्लिम, मधेशी, अपांगता भएका व्यक्ति र विपन्न समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । बालश्रममुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य पनि राखिएको छ ।

सुशासन र सेवा प्रवाह कसरी सुधार गरिनेछ ?
सुशासनका लागि डिजिटल प्रणाली लागू गरिनेछ । ई–हाजिरी, अनलाइन सेवा, नागरिक सन्तुष्टि सर्वेक्षण र सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाइनेछ । मेलमिलाप केन्द्र स्थापना, न्यायिक समितिको सुदृढीकरण र राजस्व प्रणाली सुधार पनि हाम्रो प्राथमिकतामा छ ।

अन्त्यमा, केही भन्न चाहानु हुन्छ ?
हाम्रो नीति तथा कार्यक्रम ‘समृद्ध राप्तीसोनारी’ निर्माणको स्पष्ट मार्गचित्र हो । कृषि आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सुधार, पर्यटन प्रवद्र्धन र सुशासन सुदृढीकरणमार्फत हामी आत्मनिर्भर गाउँपालिका बनाउन चाहन्छौं । यसको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण गाउँवासीको सहकार्य अपरिहार्य छ । हामी सबै मिलेर राप्तीसोनारीलाई नमूना गाउँपालिकाका रूपमा स्थापित गर्न सक्छौं भन्ने विश्वास लिएका छौं ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।