२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

रगत, पसिना र भरोसाले बनेको जीवन जुम्लाको चिसो बजारमा संघर्ष गर्दै उभिएका दिलबहादुर विश्वकर्मा

जुम्ला, जेठ २  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलका ४९ वर्षीय दिलबहादुर विश्वकर्मा २०६८ सालमा जुम्ला आउँदा उनका हात साँच्चै खाली थिए । न बैंक खातामा पैसा थियो, न कुनै राजनीतिक पहुँच, न ठूलो व्यापारिक योजना । उनीसँग थियो त केवल एउटा विश्वास—मेहनत गरे जीवन बदल्न सकिन्छ ।

त्यो समय गाउँका धेरै युवा विदेशिने तयारीमा थिए । कोही खाडी मुलुक पुगेका थिए, कोही भारततिर लागेका थिए । गाउँका घरहरू युवाविहीन हुँदै गइरहेका थिए । दिलबहादुरसँग पनि विदेश जाने विकल्प थियो । तर उनले फरक निर्णय गरे । उनले परदेशको सपना होइन, जुम्लाको चिसो माटो रोजे । खलंगा पुगेपछि सुरुका दिन सहज थिएनन् । बस्ने ठाउँ निश्चित थिएन, आयआर्जनको भरपर्दो माध्यम थिएन । जीवन धान्न जे काम पाइन्छ, त्यही गर्नुपर्ने अवस्था थियो । अन्ततः उनले भेडाखसीको मासु बेच्ने व्यवसाय सुरु गरे । धेरैले सम्मानका साथ नहेर्ने पेशा भए पनि उनले त्यसलाई जीवन बचाउने आधार बनाए ।

चन्दननाथ नगरपालिका–४ टुडिखेल लाइनस्थित भारतीबाडामा उनले ‘सुर्खेती फ्रेस हाउस’ सञ्चालन गरे । सुरुमा धेरैले यो व्यवसाय टिक्दैन भन्ने सोचे । तर दिलबहादुरसँग हार्ने विकल्प थिएन । परिवारको जिम्मेवारीले उनलाई टिकाइराख्यो । अहिले पनि उनको दिन बिहान हुनुअघि नै सुरु हुन्छ । बिहान ४ बज्नुअघि उठेर उनी पसल पुगिसकेका हुन्छन् । बजार खुल्नुअघि नै मासु तयार पार्नुपर्छ । अरू मानिस निदाइरहेका बेला उनी चिसो पानीले हात धोएर काममा जुटिसकेका हुन्छन् । शरीरमा मासुको गन्ध बस्छ, हात रगतले रातिन्छ, तर त्यो सबै उनलाई सामान्य लाग्न थालेको छ ।

उनका अनुसार बिहान ८ बजेसम्म अधिकांश बिक्री सकिन्छ । त्यसपछि मात्रै शरीरले थकान महसुस गर्छ । तर त्यो थकानसँगै सन्तुष्टि पनि जोडिएको हुन्छ, किनकि यही पसिनाले परिवार धानेको छ । दिलबहादुरले जुम्लाका गाउँ–गाउँ पुगेर किसानसँग सम्बन्ध बनाएका छन् । भेडापालक किसानसँग वर्षौंदेखिको विश्वास कायम गरेका छन् । अहिले किसानहरूले आफैं फोन गरेर “सुर्खेती दाइ, भेडा तयार छ” भनेर खबर गर्ने गरेका छन् । उनी १० हजारदेखि ४५ हजार रुपैयाँसम्मका भेडाखसी किनेर बजार ल्याउँछन् । अहिले उनीसँग २० ज्यान भेडाखसी छन् ।

जुम्लामा उनले पहिलोपटक प्रतिकेजी ४ सय ५० रुपैयाँमा मासु बिक्री गरेका थिए । अहिले त्यही मासुको मूल्य १ हजार १ सय रुपैयाँ पुगेको छ । मूल्य बढे पनि व्यवसाय सञ्चालनको चुनौती कम नभएको उनी बताउँछन् । उनको पसलमा आउने ग्राहकहरू सामान्य ग्राहक मात्र होइनन्, वर्षौंदेखिको विश्वासका आधारमा जोडिएका मानिस हुन् । सिद्धार्थ होटल, खड्का होटललगायत जुम्लाका चर्चित होटलहरू उनका नियमित ग्राहक बनेका छन् । खड्का होटलका सञ्चालक खड्क थापा भन्छन्, ‘मैले व्यवसाय थालेदेखि उनकै पसलबाट मासु लिन्छु । सफा छ, विश्वासिलो छ र चाहिएको बेला पाइन्छ ।’

दिलबहादुरको ६ जनाको परिवार यही व्यवसायले चलेको छ । घरभाडा, छोराछोरीको पढाइ, लुगाफाटो र दैनिक खर्च सबै यही पसलको आम्दानीबाट धानिएको छ । पसलको मात्रै मासिक १३ हजार ५ सय रुपैयाँ भाडा तिर्नुपर्छ । सबै खर्च कटाएर पनि उनी मासिक करिब ४५ हजार रुपैयाँ बचत गर्न सफल छन् । वार्षिक बचत ५ लाख ४० हजार रुपैयाँ पुग्छ । त्यही कमाइबाट उनले एक वर्षअघि खलंगामै ६ सय ५० वर्गमिटर घडेरी किने । ५० लाख रुपैयाँ खर्चिएको त्यो घडेरी उनका लागि केवल जग्गा होइन, वर्षौंदेखिको संघर्षको परिणाम हो ।

दिलबहादुर आफैंले धेरै पढ्न पाएनन् । तर उनले आफ्ना छोराछोरीलाई पढाएर आफ्नो अधुरो सपना पूरा गर्ने प्रयास गरिरहेका छन् । उनका छोरा काठमाडौंमा साइन्स पढिरहेका छन् । जेठी छोरी जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा ओभरसियर अध्ययनरत छिन् भने कान्छी छोरी निजी विद्यालयमा कक्षा ९ मा पढ्दैछिन् । ‘छोराछोरीलाई राम्रोसँग पढाउन सकेको छु, त्यही नै मेरो सबैभन्दा ठूलो कमाइ हो,’ उनी भन्छन् ।

उनकी धर्मपत्नी कौशिला विश्वकर्मा पनि व्यवसायमा सँगसँगै खटिन्छिन् । पसल व्यवस्थापनदेखि ग्राहक सम्हाल्ने कामसम्म उनले साथ दिइरहेकी छन् । भेडाखसीका खुट्टा प्रतिकेजी ९ सय रुपैयाँ र आन्द्राभुँडी प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछिन् । आज धेरै नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन् । गाउँका खेत बाँझिएका छन्, घरहरू रित्तिएका छन् । तर दिलबहादुर भने आफ्नै माटोमा सम्भावना देखिरहेका छन् । उनी भन्छन्, ‘गर्नेलाई आफ्नै देशमै अवसर छ । विदेशिनै पर्छ भन्ने छैन । मेहनत गर्नुपर्छ, जोखिम लिनुपर्छ । परिवारसँग बसेर पनि राम्रो कमाइ गर्न सकिन्छ ।’ दिलबहादुर विश्वकर्माको कथा कुनै ठूलो उद्योगपतिको सफलता कथा होइन । यो त एउटा सामान्य मानिसले निरन्तर मेहनत, धैर्य र इमानदारीका बलमा आफ्नो जीवन कसरी बदल्न सक्छ भन्ने उदाहरण हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।