हुम्ला, जेठ २ हुम्लामा कम उमेरमै विवाह गर्ने प्रवृत्तिले किशोरी स्वास्थ्यमा गम्भीर चुनौती थपिएको छ । जिल्लामा १९ वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको संख्या वर्षेनी बढ्दै गएको तथ्यांक सार्वजनिक भएपछि बालविवाह नियन्त्रण र किशोरी स्वास्थ्य सुरक्षाको सवाल फेरि चर्चामा आएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म जिल्लाभर सुत्केरी भएका महिलामध्ये २५ दशमलव २५ प्रतिशत किशोरी १९ वर्षमुनिका रहेका छन् । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा जिल्लाका सातवटै गाउँपालिकामा कुल पाँच सय ९४ जना सुत्केरी भएका थिए । तीमध्ये एक सय ५० जना १९ वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।
स्वास्थ्य सेवा कार्यालयकी तथ्यांक सहायक दुर्गा श्रेष्ठका अनुसार पछिल्ला वर्षमा कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको संख्या निरन्तर बढ्दो क्रममा छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १९ वर्षमुनिका सुत्केरी किशोरीको संख्या एक सय ३७ रहेको थियो भने त्यसअघिको वर्षमा यस्तो संख्या एक सय सात थियो । चालु आर्थिक वर्षका अझै तीन महिना बाँकी रहेकाले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
तथ्यांकअनुसार सबैभन्दा बढी किशोरी सुत्केरी सिमकोट गाउँपालिकामा रहेका छन् । त्यहाँ मात्रै ४० जना किशोरी १९ वर्ष नपुग्दै आमा बनेका छन् । यता नाम्खा गाउँपालिकामा भने यस्तो संख्या न्यून रहेको जनाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार हुम्लामा अझै पनि बालविवाह पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । गरिबी, अशिक्षा, सामाजिक चेतनाको कमी र परम्परागत सोचका कारण किशोरीहरू कम उमेरमै विवाह गर्न बाध्य हुने गरेका छन् । विवाहपछि चाँडै गर्भधारण हुँदा किशोरीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने मात्रै होइन, जन्मिने बालबालिकामा समेत कुपोषणको समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

सानै उमेरमा विवाह र मातृत्वको जिम्मेवारीले किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पारिरहेको सरोकारवालाहरू बताउँछन् । पर्याप्त पोषण, स्वास्थ्य सचेतना र परिवारको सहयोग नपाउँदा आमा र शिशु दुवै जोखिममा पर्ने अवस्था रहेको जनाइएको छ । स्वास्थ्य कार्यालयले बालविवाह न्यूनीकरण, किशोरी स्वास्थ्य शिक्षा र सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम सञ्चालन भइरहे पनि दुर्गम बस्तीमा अझै प्रभावकारी रूपमा चेतना फैलाउन चुनौती रहेको जनाएको छ ।















