बर्दिया, जेठ ४ वन अतिक्रमण हटाउन स्वेच्छिक रूपमा सहयोग गर्ने स्थानीयलाई सम्मान गर्दै अभियानलाई थप गति दिइएको छ । मधुवन नगरपालिका–४ बेलवा चोकमा वन क्षेत्र खाली गर्न सहयोग गर्ने व्यक्तिहरूलाई प्रमुख जिल्ला अधिकारीले सम्मान गरेपछि जिल्लाभरको अतिक्रमण हटाउने अभियान थप सक्रिय बनेको छ ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बेलवा चोकका तुलबहादुर श्रेष्ठ, धनबहादुर थारु र पुजारी थारुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सरकारी वन क्षेत्र संरक्षणमा सहयोग पुर्याएको भन्दै उनीहरूलाई सार्वजनिक रूपमा सम्मान गरिएको प्रशासनले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाको नेतृत्वमा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा बेलवा चोकस्थित अतिक्रमित क्षेत्र खाली गर्ने काम भइरहेको छ । डिभिजन वन कार्यालयले दिएको १५ दिने अल्टिमेटमपछि अधिकांश स्थानीयले स्वेच्छिक रूपमा घरटहरा हटाएका थिए भने केही पक्की संरचना भने बिहीबार डोजर प्रयोग गरी भत्काइएको हो ।
उक्त क्षेत्रमा उत्तरतर्फ रामनगर सामुदायिक वन र दक्षिणतर्फ किसान सामुदायिक वन पर्ने स्थानमा करिब ४० घरधुरी बसोबास गर्दै आएका थिए । २०६२/०६३ सालदेखि व्यापार तथा आवासीय रूपमा प्रयोग हुँदै आएको बेलवा चोक अहिले वन क्षेत्रभित्र पर्ने पुष्टि भएपछि हटाउने प्रक्रिया अघि बढाइएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्यत्र घरजग्गा भएका व्यक्तिहरूले वैकल्पिक स्थानमा स्थानान्तरण गरेका छन् भने केही सुकुमवासी परिवार अस्थायी रूपमा भाडाको कोठामा बस्न बाध्य भएका छन् । यस क्रममा केही परिवार भावनात्मक रूपमा प्रभावित बनेका दृश्य पनि देखिएका छन् ।
प्रमुख जिल्ला अधिकारी हमालले सरकारी जग्गा संरक्षण अभियानमा स्थानीयको सहयोग महत्वपूर्ण रहेको बताए ।
उनले सुकुमवासी तथा अव्यवस्थित बसोबासका विषयमा मानवोचित व्यवस्थापनपछि मात्र दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाइने स्पष्ट पारे । त्यसैगरी, डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीका अनुसार अतिक्रमित वन क्षेत्र खाली गर्ने कार्य निरन्तर जारी छ । उनका अनुसार कोठियाघाट, ओराली बजार, खुरखुरेफाँटा, संगम बस्ती, रामबस्ती लगायतका स्थानमा पनि अतिक्रमण हटाउने काम भइरहेको छ ।

वन कार्यालयले जिल्लाभर करिब ५ सय हेक्टर क्षेत्र अतिक्रमण भएको प्रारम्भिक अनुमान गरेको छ । बारबर्दिया र गुलरिया क्षेत्रका केही सामुदायिक वनहरूमा मात्रै ठूलो क्षेत्रफल अतिक्रमण भएको देखिएको छ । वन क्षेत्र संरक्षणका लागि गत वर्षदेखि नै अभियान सञ्चालन भइरहेको र विभिन्न स्थानमा गरी करिब १७ हेक्टरभन्दा बढी क्षेत्र खाली गराइसकिएको कार्यालयले जनाएको छ । अहिले हटाइएका क्षेत्रमा पुनः अतिक्रमण रोक्न ड्रोनमार्फत निगरानी गर्ने तयारी पनि गरिएको छ ।
अल्टिमेटमपछि अन्य स्थानका बस्तीहरूमा समेत त्रास र अन्योल बढेको छ । तर प्रशासनले कानुनी प्रक्रिया अनुसार मात्रै कारबाही हुने र वास्तविक सुकुमवासीको व्यवस्थापनपछि मात्र थप कदम चालिने जनाएको छ । बेलवा चोकको घटनाले एकातर्फ वन संरक्षणको आवश्यकतालाई उजागर गरेको छ भने अर्कोतर्फ अव्यवस्थित बसोबास र भूमिहीन परिवारको समस्या पनि गम्भीर रूपमा देखाएको छ ।














