नगरपालिकाले हालसम्म वास्तविक सुकुम्बासीको तथ्यांक संकलन र विश्लेषणको काम मात्र अघि बढाएको जनाएको छ । दीर्घकालीन आवास, पुनर्स्थापना तथा वैकल्पिक व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम र स्रोत सुनिश्चित नभएकाले निर्णय प्रक्रिया अघि बढ्न नसकेको नगर स्रोतले जनाएको छ । यसैबीच, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासी व्यवस्थापनका विषयमा स्थानीय सरकारसँग एक्लै कार्यान्वयन गर्न सक्ने पर्याप्त अधिकार र स्रोत नभएको स्पष्ट पारेका छन् ।
कोहलपुर, जेठ ५ कोहलपुर–११, रंगशाला अगाडिको सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय सरकार स्पष्ट योजना र ठोस निर्णयविहीन अवस्थामा देखिएको छ । अस्थायी बसोबासको व्यवस्था गरिएको भए पनि स्थायी पुनर्स्थापनाको मार्गचित्र नबन्दा सुकुम्बासीहरूको भविष्य अन्योलमै छ ।
नगरपालिकाले हालसम्म वास्तविक सुकुम्बासीको तथ्यांक संकलन र विश्लेषणको काम मात्र अघि बढाएको जनाएको छ । दीर्घकालीन आवास, पुनर्स्थापना तथा वैकल्पिक व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम र स्रोत सुनिश्चित नभएकाले निर्णय प्रक्रिया अघि बढ्न नसकेको नगर स्रोतले जनाएको छ । यसैबीच, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासी व्यवस्थापनका विषयमा स्थानीय सरकारसँग एक्लै कार्यान्वयन गर्न सक्ने पर्याप्त अधिकार र स्रोत नभएको स्पष्ट पारेका छन् ।
उनका अनुसार जग्गा वितरण गर्ने अधिकार स्थानीय सरकारसँग नहुँदा दीर्घकालीन समाधान संघीय सरकारको नीति, कार्यक्रम र बजेटमा निर्भर छ । ‘हामीसँग एकीकृत योजना र ठोस निर्णय भए पनि कार्यान्वयनका लागि संघीय तहको सहयोग अनिवार्य हुन्छ,’ उनले भने । नगर प्रमुख आचार्यले वास्तविक सुकुम्बासीको पहिचान र तथ्यांक विश्लेषण भइरहेको बताउँदै सुकुम्बासीको नाममा हुने सम्भावित दुरुपयोग रोक्न स्थानीय सरकार गम्भीर रहेको पनि उल्लेख गरे ।
उनले भने, ‘सुकुम्बासी व्यवस्थापनका विषयमा अहिले हामीसँग ठोस दीर्घकालीन योजना छैन । तथ्यांक संकलन र प्रारम्भिक व्यवस्थापन मात्र भइरहेको छ । संघीय बजेट आउने समय पनि हुन थाल्यो । सरकारले गरेको निर्णयसँगै स्थानीय सरकार अगाडि बढ्छ ।’