नेपालगन्ज असार १० किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो चिन्ताको विषय बन्दै गएको भन्दै त्यसबारे समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्यका विषयलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्नुको सट्टा सचेतना र सहयोगमुखी दृष्टिकोणबाट उठान गर्नुपर्ने धारणा राखिएको हो ।
कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले पछिल्ला वर्षहरूमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन र आत्महत्यासम्बन्धी समस्या बढ्दै गएको बताइन् । मानसिक स्वास्थ्यलाई अझै पनि समाजले खुलेर स्वीकार गर्न नसकेको र विभिन्न भ्रम तथा कलंकका कारण प्रभावित व्यक्तिहरू आवश्यक सहयोग लिनबाट पछि हट्ने गरेको उनले उल्लेख गरिन् । उनका अनुसार विश्वभर ठूलो संख्यामा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन् । बालबालिका तथा किशोरकिशोरीमा देखिने यस्ता समस्याले उनीहरूको पढाइ, सामाजिक सम्बन्ध र समग्र जीवनमा असर पार्ने भएकाले यसलाई गम्भीर रूपमा लिन आवश्यक रहेको उनले बताइन् ।
नेपालमा आत्महत्या सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै डा. उप्रेतीले यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् । मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई कमजोरी नभई उपचार र सहयोग आवश्यक पर्ने अवस्थाका रूपमा बुझ्नुपर्ने उनले बताइन् । मनोपरामर्शकर्ता सुदिपा ढुंगानाले किशोरकिशोरीको व्यवहार, भावना र दैनिक गतिविधिमा देखिने असामान्य परिवर्तनलाई समयमै पहिचान गर्न सके धेरै समस्या समाधान गर्न सकिने बताइन् । उनले मानसिक स्वास्थ्यका विषयलाई लुकाउने संस्कृतिले समस्या झन् गम्भीर बनाउने भएकाले खुला संवादको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा तथ्यमा आधारित र सकारात्मक प्रभाव पार्ने सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए । आत्महत्या वा मानसिक समस्यासम्बन्धी समाचार लेख्दा प्रभावित व्यक्ति र परिवारको गोपनीयताको सम्मान गर्नुपर्ने तथा समाचारले नकारात्मक प्रभाव नपार्ने गरी प्रस्तुत गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । आयोजकका अनुसार कार्यक्रममा करिब दुई दर्जन पत्रकारको सहभागिता रहेको थियो । गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवद्र्धनसँगै बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।














