२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

मानव–वन्यजन्तु द्वन्द्व घटाउन समुदायमा जनचेतना

कोहलपुर, असार १४ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने भेरीगंगा नगरपालिका–५ स्थित भवानी माध्यमिक विद्यालयमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्वसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायमा वन्यजन्तुप्रति सकारात्मक सोचको विकास गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रम भेरीगंगा नगरपालिका–५ को वडा कार्यालयको सहकार्यमा युथ मिडिया हबले सञ्चालन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य गोरखबहादुर खड्काले पछिल्लो समय मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्नु आजको आवश्यकता भएको बताउँदै वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । उनले वन्यजन्तुको संरक्षणसँगै स्थानीय नागरिकको सुरक्षाका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मध्यवर्ती क्षेत्रका विद्यालयका विद्यार्थी, सामुदायिक वन उपभोक्ता समूहका महिला तथा पुरुष, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालासहित ४३ जनाको सहभागिता रहेको थियो ।

छिन्चु मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष युवराज महराले बाघ, हात्ती र चितुवाको जोखिमबाट कसरी सुरक्षित रहने भन्ने विषयमा प्राप्त जानकारी वनमा आश्रित समुदायका लागि उपयोगी भएको बताए । सिरेनी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोन्द्र महराले कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै वन्यजन्तुको जोखिमबाट सुरक्षित रहनुपर्नेमा जोड दिए । चिउरीबास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भद्रबहादुर वलीले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए । भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मानबहादुर खड्काले विद्यालय आवतजावतका क्रममा विद्यार्थीहरूले वन्यजन्तुबाट कसरी सुरक्षित रहने भन्ने विषयमा महŒवपूर्ण ज्ञान प्राप्त गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

सिरेनी–चिउरीगैरा टोल विकास संस्थाका अध्यक्ष विष्णुबहादुर बिष्टले मध्यवर्ती क्षेत्रका बासिन्दाले संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेकाले उनीहरूलाई प्राथमिकतामा राखी जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले बस्तीमै पुगेर सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रमले संरक्षणको महत्वसँगै वन्यजन्तुको जोखिमबाट सुरक्षित रहने सीप प्रदान गरेको बताए । कार्यक्रमका प्रशिक्षक हुमहरी भट्टराईले मानव–वन्यजन्तु द्वन्द्वका कारण, त्यसबाट उत्पन्न हुने जोखिम तथा दुर्घटनाबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले वन्यजन्तु देखिएमा अपनाउनुपर्ने सावधानी, जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, वन क्षेत्रमा प्रवेश गर्दा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड तथा वन्यजन्तुसँग अनावश्यकरूपमा नजिक जान नहुने बताए ।

त्यसैगरी वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, वन विनाश न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्न स्थानीय समुदायको भूमिका तथा वन्यजन्तुप्रति जिम्मेवार व्यवहार अपनाउनुपर्ने विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो । अन्तर्क्रियात्मक रूपमा सञ्चालन गरिएको प्रशिक्षणमा सहभागीहरूले आफ्ना जिज्ञासा राख्दै स्थानीय समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । सहभागीहरूले कार्यक्रमबाट मानव–वन्यजन्तु द्वन्द्वका कारण, त्यसबाट जोगिने उपाय तथा वन्यजन्तुसँग सहअस्तित्व कायम गर्ने व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए । विशेषगरी विद्यार्थीहरूले आफ्नै सुरक्षासँगै वन्यजन्तु संरक्षणसम्बन्धी ज्ञान हासिल भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

युथ मिडियाका कार्यक्रम संयोजक सनत सापकोटाले सहजीकरण गरेको उक्त कार्यक्रममा आयोजक पक्षले यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय समुदायमा वन्यजन्तुप्रति सकारात्मक सोचको विकास हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । आयोजकका अनुसार आगामी दिनमा पनि मध्यवर्ती क्षेत्रका अन्य विद्यालय तथा समुदायमा यस्ता कार्यक्रम सञ्चालन गरी संरक्षण र सहअस्तित्वको अभियानलाई थप प्रभावकारी बनाइनेछ । कार्यक्रमले मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई व्यवहारमा उतार्न समुदाय, विद्यालय, सामुदायिक वन तथा स्थानीय सरकारबीचको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।