बुटवल, असार १५ दैनिक हजारौँ बिरामीको चापका कारण आकस्मिक सेवामा बढ्दो व्यवस्थापन चुनौती सामना गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालले अब गम्भीर अवस्थाका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्ने व्यवस्था सुरु गरेको छ । आकस्मिक कक्षमा ‘ट्रयाज प्रणाली’ लागू गर्दै अस्पतालले बिरामीको स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा उपचार सेवा प्रदान गर्न थालेको हो ।
अस्पताल प्रशासनका अनुसार नयाँ प्रणाली लागू भएपछि बिरामीलाई केवल पालोका आधारमा नभई उनीहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेर उपचार प्रक्रिया अघि बढाइनेछ । यसबाट ज्यान जोखिममा रहेका बिरामीले तत्काल उपचार पाउने र आकस्मिक कक्षको व्यवस्थापनसमेत थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म बिरामी उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेको जानकारी दिए । सीमित जनशक्ति र उपलब्ध स्रोतसाधनका बीच सबै बिरामीलाई एकै प्रकारको प्राथमिकता दिन सम्भव नभएकाले ट्रयाज प्रणाली आवश्यक बनेको उनले बताए ।
उनका अनुसार ट्रयाज प्रणालीअन्तर्गत सबैभन्दा गम्भीर अवस्थाका बिरामीलाई ‘रातो’ वर्गमा राखेर तुरुन्त उपचार सुरु गरिनेछ । मध्यम जोखिममा रहेका बिरामीलाई ‘पहेँलो’ वर्गमा राखिनेछ भने सामान्य ज्वरो, सामान्य चोटपटक वा केही समय पर्खंदा स्वास्थ्यमा गम्भीर असर नपर्ने बिरामीलाई ‘हरियो’ वर्गमा वर्गीकरण गरी उपचार गरिने व्यवस्था गरिएको छ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उपलब्ध हुँदै आएको सेवा बन्द गरेपछि सरकारी अस्पतालमा बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको अस्पतालले जनाएको छ । बिमामार्फत उपचारका लागि सिधैँ आउने तथा निजी अस्पतालबाट रिफर गरिएका बिरामी थपिँदा आकस्मिक कक्षसहित अस्पतालका विभिन्न सेवामा दबाब बढेको छ ।
डा. गौतमका अनुसार यस्तो अवस्थामा ट्रयाज प्रणालीले सीमित स्रोतसाधनको प्रभावकारी परिचालन गर्न सहयोग पुर्याउनेछ । विशेषगरी आकस्मिक उपचार आवश्यक भएका बिरामीले उपचार ढिलाइका कारण थप जटिलता भोग्नुपर्ने अवस्था कम हुने विश्वास अस्पतालको छ । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बढ्दो बिरामीको चापका बीच उपलब्ध जनशक्ति र पूर्वाधारको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र गुनासोरहित बनाउन अस्पताल निरन्तर प्रयासरत रहेको बताए ।

उनले अस्पतालको क्षमता र सेवाग्राहीको संख्याबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै ट्रयाज प्रणालीले आकस्मिक सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । अस्पतालका अनुसार नयाँ प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै आकस्मिक कक्षमा उपचार प्रक्रियामा पारदर्शिता बढ्नुका साथै गम्भीर बिरामीले समयमै उपचार पाउने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।















